लद्दाखमा तनाव उस्तै, भारतीय र चिनियाँ सेनाबीच पुनः झडप

काठमाडौं, १५ भदौ । भारत र चीनकाे सीमा क्षेत्र लद्दाखमा फेरि तनाब भएकाे छ । केही महिनाअघि हिंसात्मक झडप भएकाे उक्त क्षेत्रमा तनाव साम्य हुँदै गरेकाे अनुमानविपरीत पुनः दुवै देशका सेनाबीच झडप भएको खबर बाहिरिएकाे छ ।

बिबिसी हिन्दीका अनुसार चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतीय पक्षले आरोप लगाएकाे छ । भारत सरकारले पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको सोमबार पुष्टि गरेको हाे । चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको भारत सरकारकाे दावी छ ।

चिनियाँ सेनासँग झडप भएको भारतले दाबी गरे पनि चिनियाँ पक्षले भने यस विषयमा कुनै प्रतिक्रिया दिएकाे छैन । भारतीय अधिकारीहरूले भने चिनियाँ सेनाले सीमामा यथास्थितिको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको प्रतिक्रिया दिएका छन् ।

भारतीय पक्षकाे दाबी अनुसार उक्त सीमामा पछिल्लाे झडप यही अगष्ट २९ तारिखको राति भएको थियो । चिनियाँ जनमुक्ति सेनाले सीमाको यथास्थितिलाई परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले प्रतिकार गर्दा घटना भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस