नेता शोभाखर चापागाईंको कोरोनाको कारण मृत्यु

चितवन, भदौं १५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका पुराना कम्युनिस्ट नेता शोभाखर चापागाईंको कोरोनाको कारण मृत्यु भएको छ । भरतपुर वडा नं. ६ निवासी ७८ वर्षीय पुराना वामपन्थी नेता चापागाईं भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको विहान ७ः२० बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उहाँको मृत्युपछि नेकपा चितवनले शोक वक्तव्य जारी गरी पार्टीलाई क्षति भएको जनाएको छ । पार्टीले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनका सदस्य भरतपुर वडा नं. ६ निवासी पुराना वामपन्थी नेता चापागाईंको सोमबार भएको निधनले सिङगो पार्टी स्तब्ध र मर्माहत बनेको उल्लेख गरिएको छ ।

उहाँ केही दिनअघि कोभिड–१९ बाट सङ्क्रमित भई भरतपुर अस्पतालमा उपचारत रहेको जनाइएको छ । चापागाईं वि.सं.२०३४ सालमा तत्कालिन कोअर्डिनेसन केन्द्र जिल्ला संगठन कमिटी चितवनको संस्थापक मध्ये एक रहेको उल्लेख छ । २०३५ सालमा कोअर्डिनेशन केन्द्र तत्कालिन नेकपा मालेमा रुपान्तरण गरीे चितवन जिल्ला संगठन कमिटी गठन हुँदासमेत उहाँ सदस्य रहनुभएको थियो ।

चितवनको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएका चापागाईं चितवनको दुग्ध उत्पादनमा अग्रणी संस्था अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापक रहनुभएको थियो । विभिन्न शैक्षिक संस्था, सहकारी क्षेत्र र सामाजिक क्षेत्रमा समेत सक्रिय चापागाईं गाईपालक श्रमजीवी किसानको रुपमा समेत आफ्नो परिचय बनाउनु भएको पार्टीका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । नेता शोभाखरको निधनले पार्टीले एउटा कुशल अभिभावक र असल सामाजिक अभियन्ता गुमाएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो ।

पार्टीका पुराना नेताको निधनप्रति जिल्लाका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस