उपत्यकामा निषेधाज्ञाले भएन, कर्फ्यु लगाउन मेयरहरुको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरुको संगठन ‘उपत्यका नगरपालिका मेयर फोरम’ले उपत्यकामा कर्फ्यु लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई सुझाव दिएको छ।

हाल जारी निषेधाज्ञामा लापरवाही बढेको भन्दै मेयरहरुले कोरोना नियन्त्रणका लागि उपत्यकामा कर्फ्युनै लगाउनुपर्ने निष्कर्ष निकालेको मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए।

१५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने आफूहरुले ३ वटै जिल्लाका सिडिओसँग माग गरेको उनको भनाई छ।

श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाइ थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए।

उनले १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कफ्र्यु नै उत्तम विकल्प भएको बताए।

कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने उनले बताए। कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए।

निषेधाज्ञाले केही काम गरेपनि पूर्ण नियन्त्रणमा लिन नसकेको मेयर श्रेष्ठले बताए।

‘उपत्यकामा निषेधाज्ञाले गर्दा भयावह हुने सम्भावनालाई नियन्त्रण गरेको भन्ने हामीले ठानेका छौं, तथापी जुनरुपमा नियन्त्रणमा आउनुपर्ने हो, अझै आइसकेको छैन्। यसको लागि बिहान बिहान मोर्निंग वाकमा जाने, ९ बजेसम्म किनमेलमा हिँड्ने, इभनिंग वाक भनेर निष्कनेहरुबाट अलि बढी समस्या आइराखेको पाएका छौं।’ उनले भने, ‘विकल्पका रुपमा यो भन्दा पनि कडा निषेधाज्ञा गर्नुपर्छ भन्या छौं, कर्फ्युनै जारी गरेर यो कोरोनालाई नियन्त्रण गर्नुपर्छ भनेर हामीले सुझाव दियौं।’

प्रतिक्रिया दिनुहोस