बाँकेमा शुक्रबार थप २० जना कोरोना संक्रमण निको भएर घर फर्किए

नेपालगञ्ज, भदौ १९ गते । बाँके जिल्लामा हाल सङ्क्रमित हुने र निको हुने दुवैको संख्या बराबरको हाराहारीमा रहेको छ । बिहीबार जिल्लामा ४४ जना सङ्क्रमित थपिँदा बिहीबार र शुक्रबार गरेर निको भएर घर फर्किनेहरू पनि ४४ जनानै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न आइसोलेसनबाट १५ पुरुष र ५ महिला गरी शुक्रबार २० जना कोरोना सङ्क्रमणमुक्त भई निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानी आइसोलेसन र गनापुरस्थित खुला कारागारबाट ६–६ जना, खजुराको क्यान्सर अस्पताल र न्यू इन्द्रेणी होटलबाट तीन–तीन जना र भेरी अस्पतालको आइसोलेसनबाट दुई जना गरेर २० जना निको भई शुक्रबार घर फर्किएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म एक हजार १३९ जना सङ्क्रमित फेला परेकोमा आइसोलेसन अस्पताल र सेन्टरहरूमा बसेर कोरोनामुक्त भएर निको भएर ८०३ जना घर फर्किएका छन् । तीमध्ये छ जनाको मृत्यु भइसकेको छ

यसैगरी विभिन्न आइसोलेसनमा उपचार गराइरहेकाहरू ३३० जना सङ्क्रमित रहेकोमा तीमध्ये १० जनामा गम्भीर किसिमको सङ्क्रमण देखिएकोले उनीहरूको उपचार आइसीयूमा राखेर भइरहेको सो कार्यालयले जनाएको छ ।
जिल्लाका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले तीमध्ये चार जना सङ्क्रमितलाई एन्टिभाइरल रेम्डिसिभिर औषधि दिइएको छ भने एक जनालाई प्लाज्मासमेत दिएर उपचारलाई अगाडि बढाइएको छ ।

रेम्डिसिभिर औषधि दिइएका प्लाज्मा दिएका सङ्क्रमितहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस