स्वास्थ्यकर्मीदेखि पत्रकारसम्मको नक्कली परिचयपत्र बनाउने धन्दा : एउटा कार्डको ५०० रुपैयाँ !

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गर्दा काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । सरकारले निषेधाज्ञाको बेला स्वास्थ्यकर्मी र पत्रकारलाई हिँड्डुल गर्न कतै रोकतोक गरेको छैन । पत्रकारहरु कार्यालयकै परिचयपत्रले सजिलै हिँड्डुल गर्न पाउँछन् ।

पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिँडडुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने सरकारले नै निर्णय गरेको छ ।
त्यही भएर पनि होला – पछिल्लो समय काठमाडौँ उपत्यकामा प्रेस लेखिएको गाडी जताततै देखिन्छ । उपत्यकाको अधिकांश सडकमा प्रेस लेखिएको गाडी र मोटरसाइकल हुइँकिरहेका छन् ।

के तिनीहरु सबै पत्रकार हुन् त ? कतिपय ठूला मिडिया हाउसका पत्रकारहरू समेत यतिबेला रोजगारी गुमाएर घरमा थन्किएर बसेका छन् । तरपनि सडकमा प्रेस लेखेको गाडी बढेको बढ्यै छ । अर्को कुरा अधिकांश पत्रकारको गाडी चड्ने हैसियत पनि छैन ।
कसलाई के थाहा गैरपत्रकारहरु प्रेस लेखेर जथाभावी हिँडिरहेको छन् भनेर ? सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने पनि होइन ? उपत्यकामा प्रेस लेखिएका महँगा गाडी हुँइकिरहेका बेला नेपाल पत्रकार महासंघले समेत आफ्नो चासो दिएको थियो ।

यो पनि…
प्रेस पासको दुरुपयोग बढेसँगै पत्रकार महासंघको ध्यानाकर्षण
यस्तैमा सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गर्यो । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको खुलासा भयो ।

प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस