भक्तपुर घटना : बैंकको ऋण तिर्न नसक्दा सुदीपले रोजे परिवारकै अन्त्य गर्ने बाटो !

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ घर भएका ३६ वर्षीय सुदीप अधिकारी भदौ २१ गते श्राद्ध खान आफ्नो ससुराली पुगेका थिए ।

१७ वर्षीय छोरा सुशान्तलाई समेत साथमा लगेका सुदीप त्यसै दिन घर फर्किसकेका थिए । छोरा सुशान्त भने त्यसदिन आफ्नो मामाघरमै बसे । सुदीप दोस्रो दिन छोरालाई लिन ससुराली पुगेका थिए ।

भदौ २२ गतेसम्म आफन्तको सम्पर्कमा रहेका सुदीप र उनको परिवारका सदस्यको शुक्रबार (भदौ २६ गते) साँझ घरभित्रै शव फेला पर्‍यो ।

शुक्रबार साँझ सुदीपकी भाइबुहारी मासु पुर्‍याउन आफ्ना जेठाजु (सुदीप)को घर गएकी थिइन् । घर पुग्दा उनले भतिजा सुशान्तलाई बोलाइन् । जेठानी दिदीलाई पनि बोलाइन् । कसैको आवाज नसुनेपछि ढोका ठेलेर भित्र जाँदा भतिजा सुशान्त, जेठानी दिदी सम्झना र जेठाजु सुदीपको शव भेटेपछि आफ्ना पति सुनीललाई बोलाइन् ।

शुक्रबार साँझ करिब ५ बजे सुदीपका भाइ सुनीलले खबर गरेपछि महानगरीय प्रहरी प्रहरी परिसर भक्तपुर, वृत्त थिमि, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र फरेन्सिक विज्ञको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा प्रहरी पुग्दा सुदिपको शव घरको कौसीको ढोकामा घोप्टिएको अवस्थामा फेला परेको थियो । उनकी पत्नी ३४ वर्षीया सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र १५ वर्षीय छोरा सुशान्तको शव पहिलो तलाको ओछ्यानमा घोप्टिएको अवस्थामा फेला परेको थियो ।

घटनास्थल पुगेको प्रहरीले घरमा रहेको कुकुर समेत मरेको अवस्थामा फेला पार्‍यो ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा शवको प्रकृति हेर्दा सुदीपका छोरा सुशान्त र श्रीमती सम्झनाको केही दिन पहिले नै मृत्यु भइसकेको थियो भने सुदीपको बिहीबारतिर मृत्यु भएको हुनसक्ने बताउँछन् ।

ऋणको बोझ र पारिवारिक तनाव

महानगरीय अपराध महाशाखाका एक अधिकारी सुदीपको परिवारका सबै सदस्यको मृत्युसँग ऋण जोडिन पुगेको बताउँछन् ।

बैंकबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्था आएपछि सुदीपको परिवारमा तनाव बढ्दै गएको थियो ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा सुदीपले आफ्नो घर धितोमा राखेर कृषि विकास बैंकबाट २३ लाख ८५ हजार ऋण लिएका थिए । तर, उक्त ऋणको ब्याज समेत तिर्न नसकेपछि पारिवारिक तनाव बढेको थियो ।

बैंकबाट लिएको ऋणको ब्याज समेत तिर्न समस्या भएपछि सुदीपले २ महिना अगाडि मात्रै ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएका थिए ।

ससुरालीबाट ऋण लिएपछि भने उनीहरुको घरमा झन तनाव बढेको सुदीपका छिमेकीले प्रहरीलाई जानकारी दिएका छन् ।

सुदीप बेरोजगार जस्तै थिए भने श्रीमती भने आफ्नो घरको सटरमा पसल चलाउँथिन् । सुदीप दिनदिने मदिरा सेवन गर्न थालेपछि श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेको छिमेकीले प्रहरीलाई बयान दिएका छन् ।

छिमेकीले प्रहरीलाई दिएको जानकारी अनुसार परिवारका सदस्यको शव फेला पर्नु अगाडि भदौ २३ गतेसम्म उनीहरुको पसल खुल्ला थियो । भदौ २३ गते सुदीप एक्लै पसलमा थिए । तर, त्यसयता उनका परिवारका सदस्य कसैलाई पनि बाहिर नदेखेको स्थानीयले प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस