‘आलु बेचेको सात वर्ष भयो, अहिलेजस्तो महंगो कहिले भएको थिएन’

पछिल्लो समय राजधानीमा तरकारीको राजा मानिने आलुको मूल्य अत्यधिक बढेको छ। गत वर्षको तुलना गर्दा यस वर्ष दोब्बरले आलुको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजारको खुद्रा मूल्यको तथ्याङ्कले देखाउँछ।

कालिमाटी तरकारी बजारमा औसत खुद्रा मूल्य रातो आलूको प्रतिकिलो ९३ रूपैयाँ, रातो आलु (भारतीय) प्रतिकेजी ५६ रूपैयाँ र मुडेको आलु प्रतिकेजी ७६ रूपैयाँ रहेको छ।

गत वर्ष यही समयमा रातो आलूको औसत मूल्य प्रतिकिलो ४५ रूपैयाँ, रातो आलु (भारतीय) प्रतिकेजी २५ रूपैयाँ र मुडेको आलु प्रतिकेजी ४३ रूपैयाँ रहेको बजारको तथ्यांकले देखाएको छ।

के कारणले आलुको मूल्य बढेको हो यकिन कारण भने कुनै निकायले पनि दिन सकेका छैनन्। गत वर्षको तुलनामा अहिले आलुको मूल्य एकदमै बढेको आलु व्यापारीहरू बताउँछन्।

‘आलु बेचेको सात वर्ष भयो, यो वर्ष जस्तो महंगो कहिले भएको थिएन,’ बानियाँटारका व्यापारी सुजाता सापकोटाले भनिन्, ‘के कारणले बढेको हो हामीले पनि बुझ्न सकेका छैनौं।’

गत वर्ष यो समयमा आलुको मूल्य बढीमा १ सय ५० देखि ६० सम्म थियो। गत वर्ष पुसमा तुसारो परेकोले आलु उत्पादन हुन नसकेर आलु अभाव भएको हुनसक्ने उनको अनुमान छ।

‘पुसमा तुसारोले गर्दा आलु उत्पादन हुन सकेको थियो। बजारमा आलुको अभाव छ, त्यसैले मूल्य बढेको होला,’ उनले भनिन्।

उनका अनुसार अहिले बजारमा मुडेको आलु साइज अनुसार प्रतिकेजी २ सय देखि २ सय ५० रूपैयाँसम्म छ। भारतीय मूल्य १ सय ८० देखि २ सय रूपैयाँसम्म छ।

किसानले उत्पादन गरेको आलु सजिलै बजारसम्म आउन नसकेको र गाउँघरमै खपत भएकोले राजधानीमा आलुको अभाव भई मूल्य बढेको कालिमाटी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्।

‘अहिले आलुको उत्पादन नहुने सिजन होइन। अलिअलि भएका आलु पनि बजार आउन सकेका पनि छैनन्,’ उनले भने, ‘कोरोनाले गर्दा मानिस सबै घर-घर गएका छन्, गाउँमै आलुको खपत बढेको छ।’

प्रतिक्रिया दिनुहोस