अब निधन पछि कोरोना परिक्षण नगरिने, संकास्पदको अन्त्यष्टि गर्ने परिवार अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं। सरकारले फेरी कोरोनाका विषयमा नयाँ मापदण्ड लागू गरेको छ । नेपालमा यस अघि कोरोनाका कारण निधन भएकाहरुमा अधिकांश निधन पछि कोरोना पुष्टि भएको देखिएको छ । निधन पछि कोरोना जाँच गरिने भएकाले अन्त्यष्टिका लागि परिवारले एक साता सम्म पनि कुर्नुपर्ने अवस्था थियो ।

तर, अब कोरोनाको शंकामा स्वाब परीक्षणका लागि दिइसकेपछि शंकास्पद विरामीको निधन भएमा उसको कोरोना परीक्षण नगरिने भएको छ । चिकित्सकहरुले यस अघि पनि शववाट कोरोना नसर्ने बताउँदै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब निधन पछि कोरोना परिक्षण नगर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘शंकास्पद विरामीको निधन भएमा उसको कोरोना परीक्षण गरिने छैन।’उनले शंकास्पद विरामीको निधन भएमा उसको अन्तिम संस्कारमा सहभागी हुने र अघिल्लो दिनसम्म पनि सम्पर्कमा रहने व्यक्ति भने क्वारेन्टिन बस्नुपर्ने जानकारी दिएका छन् । उनले शंकास्पद विरामीको निधन भएमा उसको अन्तिम संस्कारसमेत सुरक्षित रुपमा गर्नुपर्ने निर्णय गरिएको बताए।

यस्तै स्वास्थ्य मन्त्रालयले अब कोरोना पोजिटभको ठेगाना हाल बसिरहेको स्थान खुलाउने निर्णय भएको बताए। यसअघि व्यक्ति जुनसुकै स्थानमा सबे पनि उसको स्थायी ठेगानामात्र खुलाउने गरिएको थियो। जसका कारण सरोकारवाला निकायलाई संक्रमित खोज्न समस्या हुने गरेका थिए । काठमाडौंमै रहे पनि उसको बाहिर जिल्लाको ठेगाना बताउने गरिएका कारण सम्बन्धीत जिल्लाका सरोकारवालाहरुले हैरानी पाउने गरेका थिए । जसका कारण वास्तविक तथ्याकं पनि आउने गरेका थिएन ।

प्रवक्ता गौतमले बिहीबारदेखि आम मानिसहरु पूर्वत दैनिकीमा फर्किने भन्दै सुरक्षित तरिकाले काम गर्न अपील गरेका छन्। उनले भने, ‘कोरोनाको जोखिम घटेकाले सार्वजनिक यातायात तथा आन्तरिक उडान शुरु गर्न लागिएको होइन। जोखिम उत्तिकै छ। त्यसैंले आफैले सुरक्षा मापदण्ड पूरा गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस