एयरपोर्टमा ट्याक्सीको मनोमानीः एक किलोमिटरको १२ सय रुपैंया भाडा !

काठमाडौं । सर्लाही घर भएका मानबहादुर लिम्बु आइतबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । विमानस्थलको यात्रु टर्मिनल पार गरिसकेपछि उनलाई लाग्योे, ‘काठमाडौं त आइपुगियो, अब जिल्ला कसरी फर्किने ?’ आफ्नो लगेज गुडाउँदै उनी एयरपोर्टको तल्लो पार्किङसम्म आए, त्यहाँ ठडिएका थिए हरियो नम्बरप्लेटको ट्याक्सीहरु ।

लकडाउन खुल्नुअघि कोभिड–१९ महामारी व्यवस्थापन समिति (सीसीएमसी) को गाडी आउँथ्यो । विदेशबाट आएका सबैलाई लिएर कि त होटलमा जान्थ्यो, होइन भने सीधै होल्डिङ सेन्टर पुर्याउँथ्यो । पीसीआर गरेर ७२ घण्टाभित्र नेपाल आएकालाई सीधैं होल्डिङ सेन्टरमा लगिन्थ्यो । विदेशबाट पीसीआर नगरी चार्टर्ड उडानमार्फत् आएकालाई भने होटल क्वारेन्टिनमा लगिन्थ्यो । त्यो सबै व्यवस्थापन नेपाली सेनाले गर्ने गरेको थियो । तर, अहिले अवस्था फेरिएको छ । अहिले पीसीआर गरेर नियमित उडानमार्फत् फर्केका यात्रुलाई कसैले वास्ता गर्दैन ।

लिम्बु भन्छन्, ‘२ हप्ता अगाडि आएको मेरो साथीलाई लिन सेनाको गाडी आएको थियो अरे । अहिले त कोही आउँदो रहेनछ, जहाँ जाने हो आफैं जानुपर्दो रहेछ ।’ निषेधाज्ञा खुलेर सार्वजनिक सवारीसाधन समेत चल्न थालेपछि यतिबेला नियमित उडानमार्फत् स्वदेश फर्किने नेपालीलाई सेनाले पिकअप गर्न छोडेको सीसीएमसीले जनाएको छ ।

मानबहादुरको समस्या त्यहाँबाट सुरु हुन्छ, जब उनी ट्याक्सीमा बस्छन् । ट्याक्सीमा जान तयार भएपछि न उनलाई कहाँ जान लागेको भनेर सोधियो, न त भाडाबारे कुरा नै गरियो । लिम्बु भन्छन्, ‘ट्याक्सी ड्राइभरले घर कहाँ हो भनेर सोधे ? कहाँ जाने हो भनेर सोधेनन् ।’

ट्याक्सी ड्राइभरले गौशालाको एउटा टिकट काउन्टरअघि रोकेर उनीसँग १ हजार २ सय रुपैंया भाडा मागे । १ हजार रुपैंया ट्याक्सी भाडा र २ सय रुपैंया गाडी खोजिदिएको भन्दै आफूसँग त्यति भाडा मागेको उनी बताउँछन् । त्यसो त ट्याक्सी ड्राइभरले काउन्टरमा पुर्याइदिनुबाहेक कुनै सहयोग नगरेको लिम्बु बताउँछन् । गौशालाबाट उनी १५ सय रुपैंयाको टिकट काटेर सर्लाही हिँडेका छन् । लिम्बु भन्छन्, ‘लकडाउन हुँदा आएको साथी १४ सयमा घर पुगे रे, मलाई २७ सय रुपैंया पर्यो । ट्याक्सीबाट ठगिएको महशुस भएको छ ।’

अहिले एयरपोर्टमा हरियो नम्बरप्लेट भएका ट्याक्सीहरु चल्छन् । उनीहरुको काम भनेको यात्रुलाई एयरपोर्टबाट सम्बन्धित गन्तव्यसम्म पुर्याइदिनु हो । कुनैपनि समयमा उत्रिने यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनको लागि यस्तो व्यवस्था गरिएको हो । यस्ता ट्याक्सीहरुले बाहिर यात्रु बोक्न पाउँदैनन् । सिधै एयरपोर्टदेखि यात्रुको गन्तव्यसम्म पुर्याउन मात्रै पाउँछन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस