खुसिको खबर: भारतले नेपाललाइ दियो ९६ करोड भारु सहयोग

८ असोज, काठमाडौं । भारतले नेपालको आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप भारु. ९६ करोड (१ अर्ब ५४ करोड नेपाली रुपैयाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।


गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धतामध्ये ९२ प्रतिशत घरधुरीको निर्माणसमेत सम्पन्न गरिसकेको दूतावासले जनाएको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ । भूकम्पपछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार र नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस