सहायक प्रजिअ हमालले गृह मन्त्रालयलाई लेखे पत्र, ‘नेपाल-चीन सिमानाका बारेमा बोल्नु गल्ती भयो’

काठमाडौ । हुम्लामा चीनले नेपाली भूमीमा भवन बनाएको विषयमा प्रतिकृया दिएका कारण गृहमन्त्रालयवाट स्पष्टिकरण सोधिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले गृहलाई जवाफ पठाएका छन् । उनलाई गृहले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफ पठाउँदै सहायक प्रजिअ हमालले सीमाबारे बोल्नु आफ्नो गल्ती भएको बताएका छन् ।

नेपाल–चीन सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै गृहले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। नेपाली भूमीमा चीनले भवन बनाएको भन्दै समाचार बाहिरिएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली त्यसतर्फ अनुगमनमा गएको बेलामा हमालले निमित्त प्रजिअको जिम्मेवारी पाएका थिए । सञ्चारमाध्यमले त्यसवारे जिज्ञासा राख्दा हमालले नै प्रतिकृया दिएका थिए । गृह मन्त्रालयले बोल्नुपर्ने विषयमा हमालले प्रतिकृया दिएको भन्दै उनलाई स्पष्टिकरण सोधिएको थियो ।

गृहको प्रशासन महाशाखामा बिहीबार स्पष्टीकरण पठाउँदै सहायक प्रजिअ हमालले यस विषयमा बोल्नु आफ्नो गल्ती भएको भन्दै माफी मागेको मन्त्रालयले जनाएको छ। सहायक प्रजिअ हमाललेहुम्लाको नाम्खा गाउँपालिका ६ स्थित ११ नम्बर पिलर हराएको र त्यहाँ चीनले नेपाली भूमि मिचेर एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै गृहलाई जानकारी गराएका थिए। साथै सञ्चार माध्यममा पनि त्यसवारे प्रतिकृया दिएका थिए ।

उनकै जानकारीका आधारमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितको टोली सीमा क्षेत्रमा पठाएको थियो। हराएको भनिएको पिलर पुरिएको अवस्थामा फेला परेको छ। चीनले भने आफूले भवन बनाएको क्षेत्र आफ्नै भूभागमा पर्ने दाबी गर्दै आएको छ। गृहमन्त्रालयले पनि सो भवन चीनकै भूमीमा भएको जनाइसकेको छ

प्रतिक्रिया दिनुहोस