तत्काल विद्यालय नखाेल्न शिक्षामन्त्रीकाे आग्रह, वैकल्पिक सिकाइलाई नै प्राथमिकता

काठमाडौं, १० असाेज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयहरू नखाेल्न आग्रह गर्नुभएकाे छ । शिक्षा पत्रकार समाजले आज (शनिबार) आयोजना गरेकाे एक भर्चुअल कार्यक्रममा सम्बाेधन गर्दै उहाँले काेराेना भाइरस (कोभिड– १९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नु घातक हुने, बरू वैकल्पिक सिकाइ प्रणालीलाई नै प्राथमिकता दिनुपर्ने बताउनुभएकाे हाे ।

‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक उक्त छलफलमा मन्त्री पोखरेलले काेराेना जाेखिम कायम रहेसम्म वैकल्पिक सिकाइलाइ नै पाथमिकता दिनुपर्ने बताउनुभयाे । स्कुलहरूमा सङ्क्रमण देखिएमा नियन्त्रण गर्न कठिन हुने उहाँकाे भनाइ थियाे ।

मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जनाउनुभयो । उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताउनुभयो ।

हाल कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् ।

कार्यक्रममा सञ्चारविद् डा निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताउनुभयो । उहाँले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव दिनुभयो ।

आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश–२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताउनुभयो । पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको अध्ययनले देखाएको छ । उहाँले आसमान नेपालले समुदाय तहमा युवाहरुलाई स्वयंसेवी परिचालन गरेर करिब १० हजार बालबालिकालाई स्वाध्यायन सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस