एसिड आक्रमणका नयाँ कानुन सहित राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी

काठमाडौँ , १२ असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन्।

भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको हो।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्नेलगायत अन्य कडा प्रावधान राखिएको छ ।

त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश राष्ट्रपतिले जारी गरेको राष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद दहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस