रुसबाट भ्याक्सिन आउँदैछ भन्ने हल्लाको पछि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमै कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) पत्ता लागि नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विश्वमा हाल कोरोना भाइरसविरुद्ध खोप पत्ता लागिनसकेको बताउनुभएको हो ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.गौतमले भन्नुभयो, ‘भ्याक्सिनको बारेमा हल्ला भइरहेको छ । अहिलेसम्म संसारमा कहिँ पनि भ्याक्सिन निस्केको छैन । फेज थ्री ट्रायल भइरहेको छ, भ्याक्सिनको ।’

भ्याक्सिन बनिसकेपछि नेपाल सरकारकै पहलमा नेपालमा भ्याक्सिन उपलब्ध हुने प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, ‘र, कुनै प्राइभेट कम्पनीसँग बाहिर सम्झौता भएको भन्ने हल्लाहरु पनि बाहिर आएको छ । यी हल्लाहरुको पछाडि नलाग्न सम्पूर्ण सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस