नेपाली भूमि लिम्पियाधुरामा भारतले सेनाको धमाधम ब्यारेक निर्माण गरी सेना थप्दै

असोज १८ काठमाण्डौं । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र लिपुलेकमा अतिक्रमण गरी नियन्त्रणमा लिएको दशकौं पछि नेपालले बिरोध गर्दै नक्सा सार्वजनिक गरे पछि वार्ता गर्नुको साटो भारतले नेपाली भूमिमा थप सेना तैनाथी बढाएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार तीनै क्षेत्रमा भारतीय सुरक्षाफौज थप विस्तार गरिएको छ । अहिले भारतले लिम्पियाधुरामा नेपालीलाई नै प्रतिवन्ध लगाएको छ ।

अतिक्रमित भूमिमा भारतीय चार सुरक्षा निकायका आधुनिक हतियार सहित ११ क्याम्प राखिएका छन्। नाकामा भारतीय सेनाका १९ वटा पोष्ट राखिएका छन् । सो क्षेत्रमा अहिले गोर्खा सैनिक समेत खटाईएको बताईएको छ ।
भारतीय अखबार अमर उजालका अनुसार नाभीडाङ र लिपुलेकबीच सुरक्षा फौजको पुरानो मोर्चा सुधार गर्न लागिएको छ । चीनतर्फको सुरक्षा संवेदनशीलतालाई आधार बनाएर उक्त क्षेत्रमा भारतीय सुरक्षा फौज विस्तार गरिएको हो समाचारमा उल्लेख छ । भारतीय सेनाले दिन रात नेपाली भूमि लिम्पियाधुरा सहितका क्षेत्रमा हवाई गस्ती पनि गरिरहेको छ । पालीहरुले भारतीय लडाकु विमानले पटक पटक आकाशमा उडान भरेको स्थानीयवासीको भनाई छ ।
दार्चुलाको व्यास गाउँपालिका–४ का धरमसिंह धामीले सडकमा भारतीय सुरक्षा निकायका सयौं गाडी गुडिरहेको बताएका छन् । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पुग्न गुञ्जी मुख्य नाका हो।

अगष्ट ५, २०१९ मा भारतले कास्मीरलाई केन्द्रमा गाभेकै बखत नेपाली भूमि समेत नक्सामा पारे पछि भारतले आपत्ति जनाएको थियो ।
त्यस पछि नेपालले पनि नक्सा जारी गरीसकेको छ । नेपालले भारतलाई सो क्षेत्रमा सन् १९६२ मा चीनसगँको युद्धका बेला सेनामा क्याम्प राख्न अनुमति दिएको थियो । त्यस बेला देखि नै भारतले उक्त क्षेत्र कब्जा गर्दै आएको छ । त्यो बेला नेपालको अन्य उत्तरी सीमा क्षेत्रमा पनि भारतले सैन्य पोष्ट राखेको थियो । तर युद्धमा चीनसगँ पराजीत भए पछि भारतले पोष्ट फिर्ता गरे पनि कालापानी क्षेत्रको क्याम्प झनै थपेर राखेको थियो ।
नेपालले आफ्नो भूमि फिर्ताको माग गर्दै वार्ताको आव्हान गरे पनि भारतले अटेर गरीरहेको छ ।
सीमा क्षेत्रमा नेपालले शसस्त्र प्रहरीलाई तैनाथ गर्न शुरु गरेको छ । भारतले रोड उद्घाटन देखि सैन्य क्याम्प विस्तार गरीरहे पनि नेपालले थप दबाबमुलक कदम चाल्न नसक्दा भारतले जबरजस्ती नेपाली भूमि नियन्त्रण कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस