आमा हुँ, कसरी म’र्न दिउँ ?

भनिन्छ बूढेसकालमा बाबाआमाको सहारा छोराछोरी नै हुन्छन् । आमाबाबुले पनि आफ्ना सन्तानको पालनपोषणमा रत्तिभर कसर बाँकी राख्दैनन् । छोरछोरीले पनि बूढेसकालमा आमाबाबाको सहारा बनी उनीहरुप्रति आदर एवं सम्मान प्रकट गर्छन् । छोराछोरी नै पूर्णरूपमा अशक्त भएपछि कसको के पो लाग्छ र ? यस्तै घटनाले पीडित छन् महोत्तरीका एक वृद्ध दम्पती ।

बर्दिवास नगरपालिका–८ हात्तीलेटका ७२ वर्षीय बादल बम्जन र उहाँकी ७० वर्षीया श्रीमती धनमायालाई आफ्ना सन्तानको भविष्यको चिन्ताले सताएको छ । शारीरिकरूपले पूर्णरूपमा अशक्त रहेकी ४५ वर्षीया छोरी सुकमाया र ३० वर्षका छोरा मानबहादुरको भविष्यप्रतिको चिन्ताले सताएको हो । भएभरको सारा सम्पत्ति सन्तानको उपचारमा खर्चिए पनि निको हुन नसकेपछि छोराछोरीलाई कटेरोमा थुनेर राख्नुपरेको आमा धनमायाले बताउनुभयो ।

“पहिलो सन्तानका रूपमा जन्मिएकी छोरीको लाउँलाउँ खाउँखाउँ उमेर मै मानसिक सन्तुलन गुम्यो, छोरीको उपचारका लागि हरसम्भव प्रयास गरेका थियौँ तर निको हुन सकेन । उपचारक्रममा धामीझाँक्री, अस्पताल, डाक्टर सबै गर्दा पनि छोरीलाई निको पार्न सकिएन,” आमा धनमायाले भन्नुभयो, “छोरीको उपचारकै क्रममा सिन्धुलीको रानीचुरीको घर, खेती, हल गोरु, बाख्रा सबै बिक्यो ।”

महोत्तरी, बर्दिबास– ८ का ४५ वर्षीया छोरी सुकमाया र ३० वर्षीय छोरा मानबहादुरलाई कटेरामा स्याहार्दै ६० वर्षीया आमा धनमाया बम्जन । आर्थिक स्रोतको अभावका कारण उपचार गर्न नसकी कटेरामा राख्न उनी बाध्य भएकी हुन् । तस्वीर ः धनवीर महतो

छोरी निको नभएपछि २० वर्ष अगाडि धनमाया सपरिवार बसाइँ सरी बर्दिवास–८ हात्तीलेटमा आउनुभएको थियो । बादल भन्नुहुन्छ, “भएको सारा सम्पत्ति बेचियो तर छोरी निको हुन सकिन । उपचार गर्न नसकेपछि छोरीलाई २० वर्षदेखि एउटा कटेरोमा कोचेर राखेको छु ।” धनमायाले शुरुशुरुमा छोरीलाई बाँधेर राख्ने गरेको बताउँदै अहिले उसको हालत देखेर रुन मात्र आउँछ भन्दै आँशु खसाल्नुहुन्छ ।

यता बादल र धनमायाको एकमात्र छोरा मानबहादुरको अवस्था निकै नै दयनीय छ । छोरीको पीडाले सताएको यो दम्पतीलाई छोराको अवस्थासमेत त्यस्तै भएपछि छोरालाई समेत कटेरोमै कोचेर राख्नुपर्ने बाध्यता छ । छोरा मानबहादुर जन्मिँदा बोल्न नसक्ने मात्र थिए । शारीरिक अवस्था ठीकै थियो तर १२ वर्ष पुगेपछि हिँड्न नसक्ने अवस्था भयो । बोल्न नसके पनि मानबहादुर अरु सबै काम आफैँ गर्थे । “शुरुमा बिरामी भएपछि खर्चको अभावमा छोराको कतै उपचार गराउन सकिएन । जसका कारण अहिले यो अवस्था सिर्जना भएको छ”, बादलले भन्नुभयो ।

“छोरो कम्तीमा ठीक भएको भए अलिअलि कमाइ गथ्र्यो, बूढेसकालको सहारा बन्थ्यो तर दैवको लीला सबै सपना चकनाचुर भयो”, बादलले दुःखेसो पोख्नुभयो । उहाँले सम्पत्ति सकिएपछि छोरी ठीक हुने आशामा सात पटकसम्म ठाउँ सर्दै बसेको बताउनुभयो । “बाँसको झिक्राभिक्रीको टाट लगाएको सानो झुपडी र छेउमा दुई अशक्त बिरामी छोराछोरीलाई राख्ने कटेरा नै अहिले हाम्रो सम्पत्ति हो”, उहाँले भन्नुभयो ।

महोत्तरी, बर्दिबास– ८ का ४५ वर्षीया छोरी सुकमाया र ३० वर्षीय छोरा मानबहादुरलाई कटेरामा स्याहार्दै ६० वर्षीया आमा धनमाया बम्जन । आर्थिक स्रोतको अभावका कारण दुवै सन्तानको शारीरिक र मानसिक रोगको उपचार गर्न नसकी कटेरामा राख्न उनी बाध्य भएकी हुन् । तस्वीर ः धनवीर महतो

धनमायाले भन्नुभयो, “राति उठेर टर्च लिएर यिनीहरूको सेवा गर्छु, आमा हुँ, कसरी म’र्न दिउँ ? म’र्न दिन सक्दिनँ तर उपचार पनि गर्न सक्दिनँ ।” धनमायाले कटेरामा कोचिएका दुई सन्तान सुकुमाया र मानबहादुरलाई आफ्नै सारीले भए पनि ओढाएर राख्दैआउनुभएको छ ।

यस्तो दुःख कष्टपूर्ण जीवन र पारिवारिक अवस्था सबैले देखेको भए पनि कहीँकतैबाट केही सहयोग नपाएको उहाँहरुको गुनासो छ । दुवै सन्तान पूर्ण अशक्त भए पनि अहिलेसम्म अपाङ्गता परिचयपत्र उहाँहरूले बनाउन सक्नुभएको छैन । पशुझैँ दुई सन्तान कटेरामा राखेर पाल्दासमेत स्थानीय सरकारले नदेखेझँै गरेको दम्पतीको गुनासो छ ।

सामाजिक अभियानकर्मी नीलबहादुर लुम्रेले उहाँहरूको उपचारको व्यवस्था मिलाउन र सहयोग गर्न स्थानीय सरकार चुकेको बताउनुभयो । ज्येष्ठ नागरिक दम्पतीको आर्थिक अवस्था कमजोर भएकाले पशुको झैँ जीवन बाँच्न बाध्य उहाँहरुका सन्तान सुकुमाया र मानबहादुरको स्थानीय सरकारले उद्धार गर्नुपर्ने उहाँको भनाइ छ । वर्षौंदेखि कटेरोमा थुनेर राखिएका उनीहरूलाई संरक्षण गर्न उपचार पहिलो आवश्यकता भएको लुम्रेले बताउनुभयो ।

वडा–८ का वडाध्यक्ष शमशेरसिंह थिङले गत पुसमा इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुखसहितको टोली लगेर नागरिकता बनाइदिएको भन्दै उनीहरूको सामाजिक सुरक्षाभत्ताका लागि पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस