आफ्नै श्रीमतीको कर्तव्य ज्यान अभियोगमा पक्राउ

सुनसरी । आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कर्तव्य ज्यान अभियोगमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोपालले घटना गराएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि धरान घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
सुनसरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोक्राहा नरसिंह गाउँपालिका–१ बस्ने ५१ वर्षीय बुनिया भने करिम मियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०६६ साल मंसिर २२ गते करीमकी कान्छी श्रीमती माईतिघरमा नै बस्दै आईरहेको अवस्थामा श्रीमतीलाई लिन ससुराली घरमा गएकोमा श्रीमतीसँग वादविवाद भई छोरा छोरीलाई लिई घर फर्कने क्रममा सोही गाउँपालिका–१ स्थित केराबारीमा करीमले श्रीमतीलाई घटना गराई बेहोस बनाई आफ्ना छोरा छोरीहरुलाई समेत घटना घटाइ केराबारीमा फालिदिएको कारण उनको ३ महिनाको छोरा दिलसाह मियाँको मृत्यु भएको थियो ।

विभिन्न स्थानहरुमा लुकी छिपी वस्दै आएका उनलाई घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस