कंगोमा सैनिक अधिकृतहरुबाट कुटाई खाने सैनिकको यसकारण जागिर गयो

काठमाडौं, २६ पौष । नेपाली सेनाको कंगो मिसनमा गएका सैनिक जवानहरु अधिकृतहरुबाट कुटपिट भएको घटनाको छानविन पछि कारबाही भएको छ । तर, अधिकृतबाट कुटिएका सैनिक जवानको जागिर गएको छ । अधिकृतहरुको भने एक वर्षका लागि बढुवा रोक्का मात्र भएको छ ।

सैनिक जवान नवराज माझीमाथि मरणासन्न हुने गरी कुटपिट भएको थियो । माझीले घटनाबारे सैनिक निकायभित्र उजुरी गर्नुपर्नेमा सामाजिक सञ्जालमा तस्वीर हालेकाले कारबाही भएको हो । उनले गणपति वा सैनिक मुख्यालय, शान्ति सेना निर्देशनालय वा सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था भएपनि नगरी सामाजिक सञ्जालमार्फत् बाहिर घटनाबारे हल्ला मच्चाएको कारण सजाय भएको सैनिक स्रोतले जनाएको छ । उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्दै ६ महिनाको कैद सजाय समेत तोकिएको छ ।

८ असोजमा कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका सह सेनानी इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई कुटपिट गरेका थिए । कुटपितको घटना विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । घटनामा संलग्नहरुबारे छाविन गर्न कोर्ट अफ इन्वायरी गठन भएको थियो । कंगोबाट घटनामा संलग्नहरुलाई झिकाइएको थियो ।

प्रतिक्रिया दिनुहोस