पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र बर्दियाका हुमनाथ ढुंगाना पानीमा डुबेको विदेशी नागरिकलाई बचाउने काम गर्दा आफै फस्न पुगेका छन् ।

Trando Group ग्रुप कम्पनीमा लाइफगार्डको रुपमा कार्यरत ढुंगाना र श्रेष्ठले पौडी खेल्ने क्रममा डुबेका सिरियन नागरिकलाई आफ्नो ड्युटी अनुसार उद्धार गरेका थिए । तर, लामो समयसम्म उपचारको क्रममा ती सिरियन नागरिकको सातवटा अंगले काम गर्न छाडेपछि उनका परिवारले ती दुई नेपाली कामदारलाई अबुधाबी अदालतमा मुद्दा हालिदिए ।

अदालतले सम्बन्धित कम्पनीलाई क्षतिपूर्ति दिलाउनु पर्नेमा निर्दोष नेपाली कामदारलाई दोषी देखाएर जनही १४/१४ लाख युएई दिराम जरिवाना तोकेको र उक्त जरिवानाको नेपाली मूल्य करिब नौ करोड रुपैयाँ हुन आउने बताइएको छ ।सो मुद्दाको कारण ती दुई जनाको काम विहिन भएका छन् । कम्पनीले बस्न आवास त दिएको छ तर खानका लागि कहिले एनआरएनए त कहिले दयालु मानिसहरुको भर पर्नुपरेको अवस्था छ ।

एनआरएनए आइसिसि मिडिया टाक्सफोर्सका सदस्य तथा नेपाल पत्रकार महासंघ युएईका रामप्रसाद ढुंगेलका अनुसार अत्यधिक ठुलो रकम जरिवाना परेका कारण ती दुई नेपालीहरुको जीवन अन्योलमा परेका छन् । ‘चरम निराशा र सहयोग पाउनुपर्ने निकायबाट आश्वासनमात्रै पाएका कारण ती दुई नेपाली युवाले कुनै कठोर निर्णय नलेलान भन्न सकिन्न ।’ उनले लेखेका छन् ।

कसैले दया गरेर दिएको खानेकुरा खाएर र कहिले आधा पेट खब्बुस खाएर बाचिरहेको उनीहरु बताउँछन् ।उनीहरुले युएईस्थित नेपाली दूतावास र एनआरएनए आइसीसी तथा अन्य सामाजिक संस्थालाई गुहारिरहेका छन् । सजाय माफीको लागि अपिल पनि गरिनै रहेका छन् । अदालतले तोकेको १४\१४ लाख दिराम जरिवाना निजहरुले कुनै हालतमा तिर्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस