बुवाले खुदो बेचेर पढाएका ६ छोराहरु : दुई भाई सिडियो ४ भाइ हाकिम

गुल्मीको विक बलेटक्सार गाविस–८ (हाल रुरु गाउँपालिका–४) ठानीडाँडाका बुद्धिप्रसाद पन्थ (८४) को उच्च शिक्षा अध्ययन गर्ने ठूलो इच्छा थियो । पारिवारिक कारण र आर्थिक अवस्थाले गर्दा उनले त्यो बेला सामान्य लेखपढ गर्न जान्नेबाहेक माथिल्लो तहसम्म पढ्न पाएनन् ।

आफ्नो इच्छा र चाहना हुँदाहुँदै पनि अध्ययन गर्न नपाए पनि छोराहरूलाई भने दुःख गरेर पनि उच्च शिक्षा पढाउने पन्थको अठोट थियो । त्यो समयमा पन्थको परिवार निम्नमध्यम वर्गीय थियो । पन्थका ६ छोरा छन् ।

गुल्मीको बलेटक्सार, रिडी र थोर्गा खुदोका लागि प्रख्यात ठाउँ हो । साविक पश्चिमाञ्चल क्षेत्र (हाल प्रदेश ५) गुल्र्मीको थोर्गाको खुदो भनेपछि सबै हुरुक्क हुन्छन् । पन्थको परिवारले पनि उखु खेती गर्थ्यो । उनले उखु लगायत अन्य कृषि पेशामा दुःख गरेरै भए पनि ६ छोरोलाई उच्च शिक्षासम्म पढाए । छोराहरू सबै पढाइमा अब्बल भएर निस्किए ।

सबै भाइहरूले आदर्श मावि दिगाम–७ मा अध्ययन गरे । शुरूमा त्यो विद्यालय निम्न माध्यमिक तहसम्म थियो । ६ भाइमध्ये जेठा यदुुलाल पन्थ र माहिला छोरा कृष्णप्रसाद पन्थले रिडीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने अन्य सबै भाइले आदर्श माविबाटै एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरे ।

पन्थको सपनासँगै सबै भाइ पढाइ सकेर सरकारी सेवाको उच्च पदमा पुगेका छन् । सबै भाइले उच्च शिक्षा काठमाडौंमा अध्ययन गरी सरकारी सेवा प्रवेश गर्ने निजामती सेवाको तयारी पनि गरे । सरकारी सेवामा नाम पनि निकाले ।

जब ६ भाइमध्ये जेठा सरकारी सेवामा प्रवेश गरे, त्यसपछि सबै भाइलाई सरकारी सेवामा प्रवेश गर्ने लोभ पलायो । सबै भाइको उमेर २–२ वर्ष मात्र फरक छ । त्यहीँ अनुसार निरन्तर मेहनतका साथ अध्ययन गरेर सबै भाइ सरकारी सेवामा माथिल्लो तहसम्म पुग्न सफल भए । सबै भाइ सरकारी सेवामा खुला प्रतिस्पर्धाबाट नाम निकालेर उच्च पदमा पुगेका हुन् । सम्भवतः नेपालमा यस्तो परिवार कमै होला । ६ भाइ कुन–कुन सेवाको कुन पदमा पुगे त ?

जेठा : यदुलाल पन्थ (क्याम्पस प्रमुख रामापुर, रूपन्देही)

यदुलाल पन्थ अहिले रूपन्देहीको सैनामैनास्थित सामुदायिक शहीद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख छन् । उनी ३० को दशकमा सरकारी शिक्षक थिए । २८ वर्ष सरकारी शिक्षण पेशापछि यदुलालले राजीनामा गरी क्याम्पस प्रमुख बनेर अहिले शिक्षा क्षेत्रमै कार्यरत छन् । उनी अहिले ९०० विद्यार्थी अध्ययनरत कलेजका प्रमुख छन् ।

माइला : कृष्णप्रसाद पन्थ (प्रमुख जिल्ला अधिकारी, प्युठान)

बुद्धिप्रसादका माइला छोरा हुन् कृष्णप्रसाद । जब यदुलालले शिक्षक सेवाबाट सरकारी सेवामा प्रवेश गरे, कृष्णप्रसादलाई पनि सरकारी जागिर खाने हुटहुटी चल्यो । उनले नेपाल ‘ल’ क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । कृष्णप्रसादले २०४२ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । त्यसपछि खरिदार, वाणिज्य बैंकमा नायव सुब्बा, शाखा अधिकृत, हुँदै उपसचिव बने । उनी पाल्पा हुँदै अहिले प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी छन् । उनी सहसचिवको तयारीमा छन् ।

साइला : माहादेव पन्थ (प्रमुख जिल्ला अधिकारी, रूपन्देही)

माहादेवले व्यवस्थापन संकायबाट स्नातकोत्तर गरेका छन् । उनी २०४४ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनले पनि काठमाडौंबाटै नाम निकाले । त्यसपछि उनी सलेप (सहायक लेखापाल), नायव सुब्बा, अधिकृत, उपसचिव हुँदै अहिले सहसचिव छन् । काठमाडौंबाट नाम निकाले पनि उनले सरकारी सेवा भने काभ्रेबाट शुरू गरे । काभ्रेपछि पाल्पा, प्युठान, रुकुम, जुम्ला, बाग्लुङ, रोल्पा, धनकुटा, कैलाली, तनहुँ, नवलपरासी, सुर्खेत, काठमाडौं हुँदै अहिले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा कार्यरत छन् । कार्यरत जिल्लामध्ये माहादेव ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी भए । माहादेव अब सचिवमा बढुवाको तयारीमा छन् ।

काइला : रविलाल पन्थ (आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश ५ बुटवलको सचिव)

रविलालले अर्थशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । उनी २०६२ जनप्रशासन एनपीएको गोल्डमेडलिस्ट समेत हुन् । उनले २०५३ सालदेखि राष्ट्र बैंकको खरिदार सरह सहायक द्वितीयबाट सेवा शुरू गरेका हुन् । त्यसको ३ वर्षपछि रविलालले २०५७ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भए ।

अधिकृतमा नाम निकालेपछि उनको पहिलो पदस्थापन जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको प्रमुखको रुपमा भयो । त्यसपछि वन मन्त्रालय, त्यसपछि लोकसेवा आयोग क्षेत्रीय निर्देशालयन कास्की पोखराको प्रमुख भए । फेरि लोकसेवा आयोगको कार्यालय काठमाडौं आए । त्यसपछि उनी दाङ, महोत्तरी, सुनसरी, बाँके गरी ४ जिल्लाको प्रमुख जिल्ला अधिकारी भए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत, बुटवल हुँदै अख्तियार टंगाल काठमाडौंमा पनि काम गरे । अख्तियारपछि उनी सामाजिक विकास मन्त्रालय प्रदेश १ मा दुई महिना काम गरेपछि अहिले प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् । २०६३ सालमा उपसचिव हुँदै २०६९ सालदेखि हालसम्म सहसचिव छन् । अब उनी सचिवको तयारीमा छन् ।

ठाइँला : विष्णुप्रसाद पन्थ (नेपाल टेलिकमको अधिकृत काठमाडौं)

विष्णुले पनि अर्थशास्त्रमा एमए गरेका छन् । उनी पनि खरिदार तहबाट २०४८ सालमा सरकारी दूरसञ्चार क्षेत्र नेपाल टेलिकमको सेवामा प्रवेश गरेका हुन् । खरिदार हुँदै अहिले उनी अधिकृत तहमा काठमाडौंस्थित टेलिकममा कार्यरत छन् ।

कान्छा : डा. नुरापति पन्थ (टीयूको भौतिकशास्त्र सहप्राध्यापक, सहसचिव सरह)

नुरापति विज्ञान विषयका विद्यार्थी हुन् । उनले २०६४ सालमा प्राध्यापकमा खुला प्रतिस्पर्धाबाट नाम निकालेर त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरेका हुन् । त्यसअघि उनले काठमाडौंका विभिन्न निजी कलेजमा प्राध्यापन गर्थे । उनी टीयूको भौतिक शास्त्रतर्फको सहप्राध्यापक सहसचिव सरहको पदमा रहेर कार्यरत छन् । उनले इटालीबाट पीएचडी समेत गरेका छन् ।

निरन्तरको अध्ययनले सबै भाइलाई सफलता

रवि भन्छन्, धेरै ठाउँमा बस्दा खर्च धेरै हुने भएपछि हामी सबै काठमाडौंमा बसेर पढियो । २ वटा खाटलाई जोडेर ४ भाइले घुडा धसेर पढियो ।’ उनीहरूले ६ महिनालाई पुग्ने चामल र दाल घरबाटै लैजान्थे । बुद्धिप्रसादले छोराहरूलाई पठाउने खाद्यान्न पाल्पाको तानसेनसम्म बलेटक्सारबाट भरिया नै लगाएर ल्याउँथे र पाल्पाबाट काठमाडौं गाडीमा पठाइदिन्थे । निरन्तरको अध्ययन, विषयवस्तुको ज्ञान र प्रतिस्पर्धालाई ध्यान दिएर अध्ययन गरेमा लोक सेवा उत्तीर्ण गर्न सकिने मन्त्रालयका सचिव रविलाल बताउँछन् ।

सबै भाइले निजी क्षेत्रको जागिरका लागि इच्छा पनि गरेनन्, भनसुनतर्फ पनि लागेनन् । निरन्तर अध्ययन गरेपछि सबै भाइ सफल भए । ‘लोक सेवा आयोगको परीक्षा दिनुभन्दा अघि मेहनत गरेर अगाडि बढे भने सफल भइन्छ भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोकसेवा आयोगमार्फत् हुने सम्पूर्ण जाँचहरू निष्पक्ष हुन्छन्,’ रविलालले भने ।

लोकान्तर बाट

प्रतिक्रिया दिनुहोस