नेपालमा पनि उग्र रुप :अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए, ७६६० जनामा पुष्टि

बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थपियो, घरबाट निस्कन नपाइने, ठेलागाडामा ब्यापार गर्न बन्द

वैशाख २१, काठमाडौँ | काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

यस अघि उपत्यकाका तीनै जिल्लामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब भने साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको छ ।

निर्णय अनुसार किराना र डिपार्टमेन्ट स्टोर खोल्नको लागि बिहान ७ बजेदेखि ९ बजेसम्मको समय छुट्याईएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणको अवस्था भयावह भएपछि निषेधाज्ञा थप कडा बनाइने भएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । साथै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । त्यस्तै कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस