जीवन-मरणको दोसाँधमा माओवादी नेतृ माया बल, क्यान्सर लागेर उपचार गर्ने पैसा छैन

सर्लाही । नेकपा (माओवादी केन्द्र ) प्रदेश नं– २ सभा सदस्य माया बल यतिखेर जीवन-मरणको दोसाँधमा छटपटाइरहनुभएको छ । हरिवन नगरपालिका वडा नं. १० निवासी ५२ वर्षिया माया बल अहिले क्यानसरका कारण मृत्युसँग लडिरहनु भएको छ ।

छ महिनाअघि घाटीमा समस्या भएपछि उपचरका लागि भरतपुर पुग्नुभएकी बललाई जब डाक्टरले घाटीमा क्यान्सर भएको सुनाए, उहाँ छागाबाट खसेझैँ हुनुभयो । सम्पत्तिको नाममा ८ धुर जमिन र श्रीमान् भगत बहादुर स्याङतानले साउदी अरबमा १० वर्ष रगत पसिना बगाएर बनाइदिएको एउटा घर मात्र रहेको छ । बिहान-बेलुकीको छाक टार्न उहाँको परिवार छोरीले भाडमा दिएको जमिनमा उन्नत उत्पादन गर्दै आएका छन् ।

माओवादी १० वर्षे जनयुद्धमा दूधे बालख छोरी तथा गर्भमै बच्चा लिएर परिवर्तनका लागि मर्न र मार्न तम्सिनुभएकी बललाई अहिले उपचारको लागि खर्च जुटाउन नसक्दा आफूले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नका लागि गरेको संघर्ष त्यसै खेर गएझैँ लागेको छ ।

तत्कालीन माओवादीको घोषणपत्र अनुसार जनताको हरेक खालका समस्या समाधान गर्छ भन्ने लागेर आफू पनि २०५३ सालबाटै जनयुद्धमा होमिएको र अहिले पार्टिले जनतासँग गरेको वाचाअनुरुप काम नगरेकोमा उहाँलाई दुःख लागेको छ । आफ्नो नेतृत्वले कम्तीमा जनताको शिक्षा र स्वास्थ्य निःशुल्क गरिदिए आफुहरुले देखेको सपना पूरा हुने नेतृ बल बताउनुहुन्छ ।

३ छोरी र एक छोराकी आमा बलको उपचारमा अहिलेसम्म ५ लाखभन्दा बढी नै खर्च भएको र सबै खर्च माहिली छोरी सर्मिलाले गरेको नेतृ बल बताउनुहुन्छ । राम्रो उपचारको लागि बाहिर जान आर्थिक अवस्थाले नभ्याएपछि, उहाँ घरमै सामान्य उपचार गराएर बसिरहनुभएको छ । घरमै थलिनुभएकी बललाई हरिवन नगरपलिका का मेयर गणेश प्रसाद प्रसाईले घरमै अक्सिजन सिलिण्डर पुर्याइँदिँदा खुसी लागेको बलले बताउनुभयो । हरिवन नगरपालिकाका मेयर गणेस प्रसाद प्रसाईले नेत्रृ बललाई उपचारको लागि देशबाहिरै लानुपर्ने देखिएकाले आफूले पहल र सहयोग गर्ने बताउनुभयो ।

पछिल्लो समय बलको औषधी खर्चको लागि सर्लाहीका समाज सेवी तथा नेकपा माओवादी केन्द्र सर्लाहीले प्रतिमहिना ५० हजार औषधी खर्च दिने निर्णय गरेको छ । नेत्रृ बलको औषधि खर्चको लागि अहिले मासिक ५१ हजार खर्च हुने गरेको पारिवारिक श्रोतले जनाएको छ । आफ्नो ब्यक्तिगत तथा पारिवारिक जीवनभन्दा पनि सामाजिक जीवनलाइ सर्वोपरि ठान्ने समाजको हितको लागि चट्टानझैँ उभिने बल अहिले आफै निबर्ल हुनुभएकाे छ । यसरी अरूलाइ बदल्नका लागि लड्नुभएकी नेतृ अाफैँ जीवन जोगाउने पैसा अभावले छटपटाइरहनु दुःखद कुरा हो

प्रतिक्रिया दिनुहोस