रुपन्देहीको देवदहमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।डक भासिएपछि गन्तव्यमा सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् । मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

बुटवल–नारायणगढ सडक विस्तारको क्रममा सो ठाउँको कल्भर्ट पुल भत्काएर चार लेनको पुल बनाउन डाइभर्सन बनाइएको थियो ।‘वर्षा नरोकिएकाले आज दिनभर राजमार्ग खुल्ने संभावना छैन’ डीएसपी पाण्डेले भने । लामो दूरीका सवारी साधनहरु बुटवल–मणिग्राम–देवदह मार्ग वा बुटवल–भैरहवा–भुमही मार्ग हुँदै गन्तव्यमा जान सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

बाढीले मनाङको तालगाउँ र चामे बजार लगायत तराईका विभिन्न गाउँ डुबानमा
निरन्तर वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ ।नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदी बढेर बाढी आएर डुबानमा परेको हो ।मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताए । बाँकी घर पनि जोखिममा परेका छन् । स्थानीय घर छाडेर सुरक्षित ठाँउमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले बताए ।

उनका अनुसार तालगाउँ र चामे बजारका स्थानीय अहिले सुरक्षित ठाउँमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको स्थानीय मिनराशी गुरुङले बताइन ।मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताए । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेका छन् । उनका अनुसार गाउँसंगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ ।वर्षाका कारण चामेको नयाँबजार नजिकैको घट्टेखोला बढेर वस्तीभित्र बाढी पसेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डीएसपी होमनाथ पन्थीले बताए । विभिन्न खोलाले बगाएको ठूला ढुंगाले मर्स्याङदी नदीको बहाव रोकिदा मनाङको सदरमुकाम चामे समेत डुवानको जोखिममा परेको छ ।

चामेस्थित तातोपानी कुण्ड नदीले बगाएको छ भने पारी पट्टीका केही घरहरु डुब्न थालेका छन् । लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाएको डिएसपी पन्थीको भनाइ छ ।सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले क्षति पुर्‍याएको छ ।चामेको नयाँबजारका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले सुरक्षित स्थानमा स्थान्तरण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस