देउवाको पक्षमा मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गर्दै एमाले केन्द्रिय कमिटी बैठक सकिएको छ । सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बैठकमा २२ सांसदलाई तत्काल कारबाही गर्नुपर्छ भन्दै अध्यक्ष ओली पक्षीय नेताहरुले होहल्ला गरेका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेकाले सोही बाटो अवलम्बन गर्ने धारणा राखेका थिए । 

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए । अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस