अस्ताए अर्का शिखर पुरुष, उनको निधनले नेपालको कला क्षेत्रलाई नै स्तब्ध

काठमाडौँ । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मनुभएका ललितकलाकर्र्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नदेवीका कोखबाट जन्मनुभएका नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए ।

उनको निधनले नेपालको कला क्षेत्रलाई नै स्तब्ध बनायो। तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोगले थलिएका थिए उनी, विस्मृति पनि थियो। ‘दिउँसो १२ बजेसम्म कोही चिन्नुहुन्थ्यो। छोरीहरूलाई पनि। मै भेट्न जाँदा पनि ठम्याउनुहुन्नथ्यो’, उत्तमको जीवनमाथि किताब लेखेका कला समीक्षक मुकेश मल्ल सम्झिन्छन्। उत्तमले कक्षा क्षेत्रमा थुप्रै पदचापहरू छाडेका छन्, जसलाई अरू कलाकारले उसैगरी पछ्याइरहेका छन्।

साहित्यकार नेपालीका लेख, रचना र कविता पहिलोपटक विसं २०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो । उनको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशन भएको छ । कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गरेका उनि राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित भएका थिए ।उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

काठमाडौंको किलागलमा १९९४ सालमा जन्मेका थिए उत्तम। बाबु बाजेको पेसा व्यापार भए पनि उनलाई भने सानैदेखि कुची समाउने रहर जागेको थियो। चित्रकलामा स्नातक गरेका उत्तमले लखनउमा पढेका थिए। लखनउबाट परम्परागत ‘वाश पेन्टिङ’ सिकेर आएका थिए उनी।

‘उहाँले त्यस्तो स्कुल पढ्नुभयो जहाँ कलाकार नन्दलास बोसको छत्रछाया थियो। त्यसैको प्रभावले आफ्नो परम्परालाई कलामा समेट्ने सीप उहाँसँग रह्यो’, मुकेश मल्ल भन्छन्, ‘सुरु सुरुमा उहाँले ओरेन्टियल आर्ट गर्नुभएको थियो।’

उत्तमले कला विकासका लागि संस्थागत विकासदेखि लिएर मोर्डन आर्टको क्षेत्रमा गरेको योगदान अतुलनीय छ। कलाको नयाँ धार स्थापना गर्न उत्तमको महत्वपूर्ण भूमिका रहेको मुकेश सम्झिन्छन्। ‘नेपाली कलामा आफ्नोपन स्थापना गर्नुभयो। जस्तै टुँडालको पेन्टिङ गरेर कलाभित्र आफ्नोपन ल्याउने काम उहाँले गर्नुभयो’, मुकेश सम्झिन्छन्।

प्रतिक्रिया दिनुहोस