तनहुँमा थपियो निषेधाज्ञा

दमौली । तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आजदेखि ७ गतेसम्मका लागि सो आदेश जारी गरेका हुन् । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो । कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक आचार्यले थपिएको निषेधाज्ञा पहिलाको भन्दा कडा हुने र उल्लङ्घन गर्नेलाई जरिवाना गरिने बताए । पसल खोल्ने समय अहिले घटाएर बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न र व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिइने तर अन्य क्रियाकलापमा भने पूर्णरूपमा प्रतिबन्ध लगाइएकोे छ ।

जिल्लामा दिनदिनै कोरोना सङ्क्रमित बढ्दै गएका र अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४७६ पुगेको छ । वैशाखदेखि यता चार हजार ६९७ जनामा सङ्क्रमण पुष्टि भएकामा चार हजार १२२ निको भएका र ९९ को मृत्यु भएको छ ।कोरोनाको जोखिम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क सहितको ट्रि हाउस बन्द गरिएको छ । पछिल्लो समय चर्चित यस स्थलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेकाले जोखिम बढ्न नदिन केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा अर्को सूचना जारी नभएसम्मका उक्त स्थल बन्द गर्ने निर्णय गरिएको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए । ट्रि हाउसमा बिदाका दिनमा चार–पाँच सय र अन्य दिन एक सय आन्तरिक पर्यटक पुग्ने गरेका थिए । डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको थियो । रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउन उद्यानका साथै रुखमा घर बनाइएको थियो । रुखलाई भित्र पारेर निर्माण गरिएको दुई तहको काठको घरबाट दृश्यावलोकन गर्न सकिन्छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको हो ।

एक हप्तादेखि उठेन फोहर
सदरमुकाम दमौलीमा एक हप्तादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ । व्यास नगरपालिका–१ चारकुनेमा अस्थायीरुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि दमौली बजारको फोहर उठाउन नसकिएको हो । नगरपालिकाले फोहर विसर्जन गर्दै आएको वडा नं ३ स्थित भतेरीमा गतवर्ष मादी नदीले कटान गरिदिएपछि चारकुनेका रामदेव पन्थको जग्गा भाडामा लिएर त्यहाँ नकुहिने फोहर विसर्जन गर्न थालिएको थियो । कुहिने फोहरलाई भने वडा नं १० मै मल उत्पादनका लागि प्रयोगमा ल्याउने गरिएको छ ।

‘अस्थायी रुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि अहिले फोहर उठाउन कठिन भएको छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले भने, ‘ठाउँ खोजेर फोहर उठाउने प्रयास गर्दैछौ ।’ उनका अनुसार वडा नं १३ मा फोहर विसर्जनका लागि ठाउँ हेर्नाका साथै स्थानीयबासीसँग छलफल पनि भइरहेको छ । वडा नं १ को भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नजिकै बुल्दीखोलाको आसपासमा पनि फोहर विसर्जनका लागि नगरप्रमुखले ठाउँ हेर्नुभएको प्रशासकीय अधिकृत सिग्देलले बताए । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस