भक्तपुरमा शुरु भयो ‘साँपारु’

दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ ।

भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ । सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो । साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । यहाँ सो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ । पर्वका पूर्वसन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै यहाँ साँपारु पर्व शुरु हुने परम्परा छ ।

यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण पर्वलाई औपचारिकतामा सीमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायले जनाएका छन् । यसैका कारण आइतबार साँझ गाईजात्रा घिन्ताङघिसी नाच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ । दरबारस्क्वायरस्थित तलेजु भवानीको साँया (गाईजात्रा) निकालेपछि मात्र सर्वसाधारणले आफ्ना मृतक आफन्तको सम्झनामा साँया निकालिन्छ । सोअनुसार आज बिहान भाले नबास्दै तलेजुको साँया निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । यससँगै दिवङ्गतको आत्माको शान्तिको कामना गर्दै निकाल्ने तहामचा जिल्लामा मनाइने गाईजात्राको अर्को आकर्षण हो । यसैले यहाँ गाईजात्रा हेर्न तथा अवलोकन गर्न उपत्यकाका तीन जिल्लाका साथै आसपासका हजारौँ मानिस आउने गर्दछ ।

धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त लयमा घिन्ताङघिसी नाच करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा बाजाका तालमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । तहामचा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ ।

तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । यसलाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । यसमा मृतकको तस्विरसमेत राखिन्छ । यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ । यसलाई नगरपरिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि विधानअनुसार पूजा गर्ने प्रचलन छ ।

भक्तपुर कै तालाकोस्थित कुमालेले भने मृतक आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराईन्छ । कुमालेको पुख्र्यौली पेशा माटोका भाडा बनाउनु हो । यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराईने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिलासमेत प्रदर्शन गरिन्छ । साथै केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा शृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलनसमेत छ ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास समेत रही आएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन ।

मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको उहाँले बताउनुभयो । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठको भनाइ छ ।

उहाँ गाईजात्रा नेवार समुदायले लिच्छविकालदेखि नै मनाउँदै आएको दाबी गर्नुहुन्छ । “यो जात्रा प्रताप मल्लले चलाएको भन्ने कुरा सत्य होइन । मल्लहरुका पूर्वज जयस्थिति मल्ल हुन् । जयस्थिति मल्ल प्रतापमल्लभन्दा तीन सय वर्ष अधिका उनका पूर्वज हुन् । जयस्थिति मल्लको पालामा लेखिएको प्रसिद्ध गोपालराजवंशावली ग्रन्थमा साँयात शब्दको उल्लेख छ”, उहाँले भन्नुभयो, “साँ को अर्थ हो गाई र यात को अर्थ हो यात्रा वा जात्रा । यस प्रमाणका आधारमा जयस्थिति मल्लको पालामै गाईजात्रा मनाइन्थ्यो भन्ने कुरा थाहा पाइन्छ ।”

लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्छ भन्ने मान्न सकिने उहाँको भनाइ छ । उहाँले १४ औँ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधारहरु भएको जानकारीदिनुभयो । प्रताप मल्लकी रानी पुत्र वियोगको शोकमा डुबेकाले रानीको मन शान्त पार्न सो बेलादेखि गाईजात्रामा हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न थालिएको हुन् सक्ने संस्कृतिकर्मीको मत रहेको छ ।

भक्तपुरमा साँपारु पर्व तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएकोसंस्कृतिविद् हरिशरण राजोपाध्यायले जानकारीदिनुभयो । “भक्तपुर तन्त्र विद्यायुक्त शहर हो । यहाँका हरेक सांस्कृतिक परम्परा तान्त्रिक विधि पूर्वक मनाइन्छ”, उहाँले भन्नुभयो, “भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ सापारु मनाइन्छ ।”

भक्तपुर नगर तन्त्रका आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर यहाँ मृतकको नाममा ताहासाँ, दोसाँ, महादेव पार्वती, बासा लाकेगुलगायत गरी नगरपरिक्रमा गराइने परम्परा रहेको राजोपाध्यायले बताउनुभयो । त्यसका साथै यहाँ राधाकृष्णको प्रतिक नागाचा प्याखं, देवी प्याखं, भैल प्याखं, माकचा प्याखं, लाखे प्याखं, लगायत विभिन्न नाच प्रदशैन गरिन्छ ।

साँपारुको दिन मध्य रातमा तलेजुको ताहासाँले नगर परिक्रमा गरेर साँपारु शुरु गरिन्छ भने अन्तमा महादेव र पार्वतको प्रतीकका रुपमा परालको भैरव र नकीजु अजिमाको ताहासाँ बनाएर महादेवको गणहरुको प्रतीक घिङताघिसी लाने गरेको उहाँले बताउनुभयो । “जात्रा एउटा शिवशक्तिको प्रतीकका रुपमा पनि लिइन्छ । नगर परिक्रमा गर्दा पाइला पाइलामा भएका दैविक शक्तिले मृतकको आत्मा शान्त गराइन्छ । यी सबै काठमाडौँ र पाटनको भन्दा निकै फरक र पृथक छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस