देवघाटमा बाख्रा पालन तर्फ किसानको आकर्षण बढेको

दमौली, भदौ ८ गते । तनहुँको देवघाट गाउँपालिकामा पछिल्लो समय व्यावसायिक बाख्रपालन तर्फ किसानहरुको आकर्षण छ । गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाका परियोजनाहरुले पशुपालनमा राम्रो अनुदानसहित प्रोत्साहन गर्न थालेपछि कृषकहरुको आकर्षण बढेको हो ।

गत वर्षदेखी देवघाट गाउँपालिकाको समन्वयमा सञ्चालित हेफर इन्टरनेशनल नेपाल तथा समृद्धि नेपाल तनहुँको साझेदारीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत कृषकहरु बाख्रा पालनमा आबद्ध भएका छन् । देवघाटको पाँच वटै वडामा सञ्चालित उक्त परियोजनामा हाल १४ समूहमा ३ सय ५० घरधुरी कृषक आबद्ध छन् । सोही परियोजना मार्फत कृषकहरु बाख्रा पालनमा संलग्न भएका हुन् ।

परियोजनाको लक्ष्य प्रत्यक्षरुपमा आबद्ध परिवारहरुको वार्षिक आम्दानीमा वृद्धि गरी जीविकोपार्जनमा सुधार गर्नु रहेको परियोजना संयोजक डा. सम्राट अधिकारीले बताउनु भयो । परियोजनामा आबद्ध महिलाहरुलाई स्वावलम्बी समूहहरु तथा सहकारीमा आबद्ध गरी सामाजिक पुँजीको अभिवृद्धि गर्नु, सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिहरुको अनुसरणबाट बाख्राको उत्पादन, उत्पादकत्व र उद्यमशीलता अभिवृद्धि गर्नु र संस्थागत संयन्त्र निर्माण गरी सकारात्मक वातावरण सृजना गर्नु रहेको अधिकारीले जानकारी दिनु भयो ।

परियोजना मार्फत गत चैतदेखि असार मसान्तसम्म पाँच वटै वडाहरुमा १४ वटा मूल समूह गठन, १४ वटा मूल समूहलाई १ दिनको सुधारिएको खोर निर्माण सम्बन्धी अभिमुखीकरण, पाँच वटै वडामा १÷१ वटा नमुना खोर निर्माण, १४ वटा समूहलाई १÷१ वटा ब्याड बोका अनुदान, १४ वटा मूल समूहका ६७ जना सदस्यलाई समूहको निर्णयमा आवश्यकतामा आधारित भई १५ हजारका दरले पुरस्कार स्वरूप अनुदान प्रदान गरी बाख्राको खोर निर्माण, घाँसको बिउ वितरण, लिची, आँप, सुन्तला, कागती र अनारको बिरुवा वितरण गरिएको कृषि तथा पशु उद्यमशीलता विकास परियोजना फोकल पर्सन पूर्णिमाया थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस