बिग्रिएका मान्छेले पार्टी छोडे, सज्जन सबै एमालेमा नै छन् – ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको बताएका छन् । ललितपुरको लुभुमा युथ फोर्सलेआयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले आफ्नो पार्टीलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाबकिताब हुने बताए ।

एमाले रुख भएको बताउदै अध्यक्ष ओलीले एक दुई पात पहेंलिएर खस्दैमा केही फरक नपर्ने र रुखमा झन नयाँ–नयाँ पालुवा पलाउने बताए ।

आगामी चुनाबमा एमाले एक्लै उठेर बहुमत ल्याउने बताउदै ओलीले सबै दल मिलेर चुनावमा उठे पनि आफ्नो दललाई जित्न नसक्ने दाबी गरे । उनले अबको चुनाबमा सबै पार्टी मिले पनि एमालेको कम्मरसम्म पनि नआउने बताए ।

पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताउदै आलीले फुट्नु र चोइटिनु फरक कुरा भएको बताए । उनले भने – ‘बिग्रिएका मान्छेले पार्टी छोडेका हुन सज्जन सबै एमालेमा नै छन्’ उनले थपे – ‘एमाले फुटेको नभई अलिकति चोइटिएको हो ।’

प्रतिक्रिया दिनुहोस