माओवादी पहिलो पार्टी नभइ देश बन्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी पहिलो नभइ देश नबन्ने बताएका छन् । सर्लाही-काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गरेका हुन् ।

प्रचण्डले अभियान लिएर गाउँ-गाउँ जान कार्यकर्तालाई आग्रह पनि गरेका छन् । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’ यस्तै उनले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दावी पनि गरे । ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ’, उनले भने ।

यस्तै प्रचण्डले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने बताएका छन् । प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने बताए । संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफुले भनेको पनि उनले स्मरण गरे ।

प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले षड्यन्त्रले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए । ओली नेतृत्वको सरकारमा बेला संघीयता लगाएतका उपलव्धीहरु जोखिममा जाने खतरा भएको भन्दै उनले अरु कसैलाई मत दिदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गरे । प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाडका बिषयमा टुङ्गो लाग्ने बताए । प्रचण्डले मधेशका क्षेत्रमा जनताले भोगेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा सर्लाहीका बिभिन्न दलका कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस