डा. शेखर कोइराला:एमसीसीबारे पूर्वप्रधानमन्त्रीको एकमत हुनुपर्छ

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् ।विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले एमसीसीका बारेमा सहमति गर्न आवश्यक रहेको बताएका हुन् ।

‘राष्ट्रिय सहमति बनाउन सकिन्छ भने बनाऔं,’ उनले भने, ‘देशका प्रधानमन्त्रीहरु त एक ठाउँमा बस्नहोस्, सहमति गरेर अघि बढ्नुहोस् ।’एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने भन्दै नेता कोइरालाले यो कुरा जनतालाई बुझाउनुपर्ने बताए ।

‘संविधान माथि एमसीसीको कानुन लागु हुदैन होला, हामीले बुझाउन सक्नुपर्‍यो, नेताहरुले बुझाउनुपर्‍यो’ उनले भने,‘… पूर्व प्रधानमन्त्रीहरु प्रधानमन्त्री हुँदाखेरि एमसीसी पास गर्नुपर्छ भन्नुहुन्छ । एग्रिमेन्ट गराउनुहुन्छ, प्रधानमन्त्रीबाट निस्किएपछि गर्नुहुँदैन भन्नुहुन्छ । यस्तो कुराले नेपाललाई अप्ठेरो पर्छ ।’

अरुण तेस्रोमा विगतमा गल्ती भएको भन्दै उनले एमसीसीमा अहिले देखिएको समस्या समाधान गर्नुपर्ने बताए । नेता कोइरालाले एमसीसीका कारण गठबन्धन परिवर्तन हुनसक्ने सम्भावना पनि रहेको बताए ।

सरकार चलेको छ र ?डा. कोइरालाले सरकार अलोकतान्त्रिक रुपमा अघि बढेको बताए । सरकार कसरी चलेको छ भन्ने पत्रकारको प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘सरकार चलेको छ र ?

पाँच जनाको मन्त्रिपरिषदले सरकार चलाउन नसक्ने उनले बताए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर अलोकतान्त्रिक काम गरेको भन्दै कोइरालाले अभिव्यक्ति स्वतन्त्रता बन्देज लगाउने गरी विज्ञप्ति जारी गर्नु सरकारको अलोकतान्त्रिक काम भएको बताए ।

‘यो सरकार पनि अलोकतात्रिक तरिकाले हिँड्दैछ त,’ उनले भने, ‘हाम्रै नेतृत्वको सरकार छ । तर हाम्रै नेतृत्वको सरकार भएपनि गलत कुरामा बोल्नैपर्ने हुन्छ । हामीलाई जननायक बीपी कोइरालाले त्यही कुरा सिकाउनुभएको छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसको डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशनलाई स्वीकार्न नसक्ने बताए । उनले कांग्रेसको इतिहासमा पहिलो पटक प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको भन्दै आपत्ति जनाए ।

कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि अलोकतान्त्रिक ढंगले चलेको भन्दै उनले यसको समाधानका लागि नेतृत्व नै परिवर्तन गर्नुपर्ने बताए ।कोइरालाले १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट साझा उम्मेदवार बनाएर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस