हनी ट्यापर सुन्दरीहरु : ५० लाख देउ, होइन भने जबर्जस्ती करणीमा मुद्दा हाल्छु

रुषलाई मोहजाल (हनिट्रयाप)मा पारेर अपराधिक तरिकाले रकम असुल गर्ने महिलाको समूहलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पुरुषलाई विभिन्न बहानामा सम्पर्कमा ल्याउने र ट्रयापमा पारेर लाखौं रकम असुल गर्ने दाङका तीन महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पछिल्लो समय यो कार्य मौलाएको अनुमान भइरहेका बेला प्रहरीसम्म भने कमै मुद्धा जाने गरेको देखिएको छ। आन्तरिक रुपमा मिलाउने अवस्था भइरहेको बेला दाङ प्रहरीमा एक पुरुषले ठगिएको मुद्धा दर्ता गरे पछि यो गिरोह पक्राउ परेको दाङ प्रहरीले बताएको छ।

दाङ प्रहरीले अपराधिक लाभ (एक्सटर्सन) कसुरमा ३ जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो। कानुनी परामर्शको नाममा होटेलमा बोलाइ बियर र चिया खाएकै भरमा जबरजस्ती करणीको आरोप लगाएर महिलाहरुले ती पुरुष समक्ष बार्गेनिङ सुरु गरेको पाइएको छ। ५० लाखबाट बार्गेनिङ गरेर १८ लाखमा कुरा मिलाई अपराधिक रुपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिएको दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए।

‘हनि ट्रयापमा पारेर पैसा असुल्ने ३ जना महिलालाई पक्राउ गरी कानुनी दायरमा ल्याएका छौं’, उनले भने। अनुसन्धानले उनीहरुले पैसा असुल गरेको पुष्टि पनि भएको छ। दाङका प्रहरी प्रवक्ता रिजालले पुरुषहरुलाई हनिट्रापमा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीय खुमा वली र घोराही ५ निवासी ३२ वर्षीया सुस्मा परियार रहेको बताए।

ती महिलाबाट १७ लाखको चेक पनि बरामद भएको उनले बताए । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।उनीहरुबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाखसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता हुने जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । उपदफा ३ ‘ख’ बमोजिम कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस