देउवाका कारण संघियता धरापमा पर्यो, छिटो चुनावमा जाउ

काठमाण्डौँ, १४ असोज । नेपाली काँग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण संघियता समेत धरापमा पर्न लागेको बताउनुभएको छ ।

उहाँले सरकार, संसद् र अदालत यसैगरी चल्ने हो भने अर्ली इलेक्सनको बिकल्प नभएको बताउनुभयो । उहाँले देश यस्तै अवस्थामा सधै रहन नसक्ने भन्दै निर्वाचनमा जान सकिने उद्घोष गर्नुभयो । उहाँले देउवा नेतृत्वको सरकार चल्न नसकेको बताउनुभएको छ ।

सरकार गठन भएको यति लामो समयसम्म पनि मन्त्रीपरिषद्ले पुर्णता नपाउनु दुखद रहेको बताउनुभयो । आज बिहान एक रेडियो अन्र्तरवार्तामा उहाँले प्रधानमन्त्री देउवाको कार्यशैलीको कडा विरोध गर्नुभयो । उहाँले सभापति समेत रहेका देउवाले प्रहरी प्रशासन लगाएर काँग्रेस अधिबेशन गराएको बताउनुभयो ।

उसले काँग्रेसले कतै बाटो विराएको त हैन भन्ने प्रश्न उठाएको बताउनुभयो । उहाँले देउवाले प्रहरी प्रशासन लगाएर सत्ताको दुरुपयोग गरेको बताउनुभयो । उहाँले सरकारले ल्याएको दलबिभाजन सम्बन्धी अध्यादेश संसद्लाई छलेर ल्याउनु अलोकतान्त्रिक र व्यवस्थालाई नै कमजोर बनाएको बताउनुभयो । उहाँले बर्तमान सरकार पनि अध्यादेश बाट नै चल्न खोजेको बताउनुभयो ।

संसद् राम्ररी चल्न सकेको छैन, सरकार बिस्तार हुन सकेको छैन, उहाँले भन्नुभयो – देशको लागि यो दुर्भाग्य हो । सभापति देउवा लोकतन्त्रका लागि लडेको नेता हो तर लोकतन्त्रमाथि नै प्रहार भईरहेको छ कोईरालाले भन्नुभयो । उहाँले सरकार छ र भनेर प्रश्न समेत गर्नुभएको छ । उहाँले यो गठबन्धन पनि मजबुत हुन नसकेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस