अनि हाँसिरहे कालभैरव

काठमाडौं । काठमाडौं उपत्यका सांस्कृतिक तथा धार्मिक सम्पदा र सभ्यताले सम्पन्न शहर हो । काठमाडौं उपत्यकालाई विश्वको खुला संग्रहालय पनि भनिन्छ ।

यसैमध्येको एक वसन्तपुर दरबारस्क्वायर विश्व सम्पदा सूचीमा सूचीकृत छ । सो क्षेत्रबाट मल्ल तथा शाहकालीन राजाहरुले मुलुकको शासनसत्ता चलाएका थिए । नारायणहिटीमा राजदरबार सारिनुअघि वसन्तपुरमै शासनको केन्द्र थियो । वसन्तपुरको आर्कषण यतिमा मात्र सीमित छैन ।
यहाँको जात्रा, पर्व तथा मठमन्दिरको पनि उत्तिकै महत्व छ । दशैं घर, काष्ठमण्डपलगायतका सांस्कृतिक सम्पदाहरुको पनि उत्तिकै महत्व छ ।

वसन्तपुरको यस्तै महत्वपूर्ण धरोहरमध्येको एक हो– कालभैरव ।

सत्य पत्ता लगाउन पहिले–पहिले कालभैरवलाई छुवाएर कसम खुवाउने परम्परा रहेको जानकारहरु बताउँछन् । कालभैरवलाई छोएर झुटो बोले रगत छादेर मर्नुपर्छ भन्ने मान्यता स्थापित थियो । तत्कालीन समाजमा न्याय व्यवस्था स्थापनाका लागि यसले सहयोग पुर्याएको जानकारहरु बताउँछन् ।

कालभैरवको स्थापना

राजा प्रताप मल्लले नागार्जुनको पहाड खन्न लगाउँदा फेला पारेर ल्याएको कालभैरवको मूर्ति हनुमानढोकामा स्थापना गरेका किम्बदन्ती पाइन्छ ।

एक किम्बदन्तीअनुसार मूर्ति स्थापनाका बेला कालभैरव सो मूर्तिमा प्रवेश गरेका थिएनन् । पछि टँुडिखेलमा कालभैरव घुम्न आउछन्, भन्ने कुरा राजा प्रताप मल्लले जानकारी पाए । त्यसपछि प्रताप मल्लले टँुडिखेलबाट ल्याएर मूर्तिमा प्रवेश गराउने विचार गरे ।

आफू स्वयं पनि तान्त्रिक रहेका उनले अन्य तान्त्रिकको सहायतामा कालभैरवलाई टुँडीखेलबाट वसन्तपुर पुर्याउने निधो भयो । राजा प्रताप मल्ल र अन्य तान्त्रिकहरु मध्य रातमा टँुडिखेल पुगे । टँुडिखेलको बिचबाट आइरहेको कालभैरवलाई देख्नासाथ तान्त्रिक बल प्रयोग गरी धागोले बेरि वसन्तपुर पुर्याएर मूर्तिमा प्रलेश गराए भन्ने किम्बदन्ती छ ।

त्यसपछि कालभैरवको मूर्ति छोएर कसम खाने प्रचलन कायम भएको बताइन्छ । त्यही बेलादेखि कसम खुवाएर सत्यतथ्य थाहा पाउने प्रचलन कायम भएको हो ।

संस्कृतिविद् कन्हैया लाल चखूँका अनुसार चन्द्रशमशेरको पालासम्म राज्यद्रोह गरेको शंका लागेका मानिसलाई कालभैरवको मूर्ति छुवाएर कसम खुवाइन्थ्यो । चखूँका अनुसार काठमाडौंमा चलेको हामामारी नियन्त्रणका लागि प्रताप मल्लले कालभैरवको मूर्ति स्थापना गरेका हुन् ।

कालभैरवको प्रभाव

इतिहासविद् वासु पासाले आफ्नो उपन्यास ‘भादगाउँ’मा उल्लेख गरेअनुसार एक पुरुषले श्रीमतीले अरुसँग सम्भोग गरेको अशंकामा कालभैरव छुवाएर कसम खुवाउन खोजे । तर, त्यसबाट त्रसित श्रीमतीले पहिले माइत जाने अनि फर्केपछि कसम खाने भनि माइती गइन् । उनले आफ्नो कर्तुत र श्रीमानको कुरा आमालाई सुनाइन् । छोरीको कुरा सुनेर आमा रिसाइन् र गाली गरिन् । उनले छोरीलाई भनिन्– तँलाई दिने बुद्धि मसँग छैन । त्यसपछि एकछिन सोचेर छोरीले आमालाई दुध खुवाउन भनिन् । तरुनी छोरीको कुरा सुनेर आमा आश्चर्यमा परिन् । तर छोरीले जबर्जस्ती आमाको दूध चुसिन् र घरतर्फ लागिन् । त्यसपछि लोग्नेलाई लिएर वसन्तपुर पुगिन् । काल भैरबको मूर्ति छोएर कसम खाँदै उनले भनिन्, मैले मेरी आमाको दूध अन्तिम पटक चुसेदेखि आजसम्म मेरो लोग्नेबाहेक अरुसँग सम्पर्क गरेको छैन । ती महिलोको बठ्याँइदेखि काल भैरब दाँत देखाइ मुसुक्क हाँसे ।

कालभैरबको मूर्ति त्यसबेलादेखि हाँसेको सो पुस्तकमा उल्लेख छ । यस प्रसँगपछि काल भैरबप्रतिको विश्वासमा कमी आएको किम्बदन्ती पाइन्छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस