इटालियन पर्यटक भन्छन्, ‘नेपालमा क्वारेन्टाइन रहेनछ, आफै सतर्कता अपनाएको छु’

ठमेलस्थित काठमाडौँ गेस्ट हाउसको विपरीत दिशामा छ, इटालियन रेस्टुरेन्ट ‘ला डोल्से भिटा’ । यसको नेपाली अर्थ हुन्छ– मिठासपूर्ण जीवन । सिजनको समय अर्थात् सेप्टेम्बरदेखि नोभेम्बरसम्म तीन महिने अवधि यहाँ ठूलो सङ्ख्यामा युरोपेली ग्राहक आउँछन्, दैनिक ३ सयसम्म ।

मार्च, अप्रिल ‘मिनी सिजन’मा दैनिक सरदर १ सय ग्राहक आउनुपर्ने हो । तर आकाश खुलेको मध्य मार्चमा पनि ठमेल सुनसान छ । चीनको उहानबाट फैलिएको कोभिड–१९ कोरोना भाइरसको विश्वव्यापी महामारीपछि रेस्टुरेन्टमा विदेशी पर्यटक भेट्न घण्टाँै प्रतीक्षा गर्नुपर्छ । रेस्टुरेन्ट खुलेको झन्डै २ घण्टापछि यहाँ बल्ल दुई पर्यटक आइपुगे । हामी पहिलो फ्लोरमा थियौँ, उनीहरु खाना खान सरासर माथिल्लो तलामा लागे । लगत्तै कफी अर्डर गर्न आइपुगे– इटालियन पर्यटक रिकार्डो बियन्को ।

गत साता नेपाल आएयता उनी दैनिकजसो यस रेस्टुरेन्टमा आउँछन् । उनी फिल्मकर्मी हुन् । समस्याबीच बाँचेको मानिस र उसका आशा–भरोसालाई क्यामेरामा कैद गर्छन् । उनले माल्डोभामा सुटिङ गरेको ‘निकु’ सन् २०१६ मा ‘अर्फ इन बर्लिन’ फेस्टिभलमा प्रथम भएको थियो । सन् २०१७ मा उनले थप तीन वृत्तचित्र सुटिङ गरे । सिरियाली द्वन्द्वबारे ‘बर्निङ स्यान्ड’, ब्राजिलको अमेजन घनाजङ्गल नजिकको यानोमामी गाउँमा ‘द लास्ट भिलेज’ र भारत, अमेरिका, फ्रान्स तथा इटलीमा ‘वार्म स्याडो’ । बर्निङ स्यान्ड अर्थात् ‘जल्दै गरेको बालुवा’– यस वृत्तचित्रले सिरिया द्वन्द्वले निम्त्याएको घाउ देखाउँछ । दमास्कस, काफरोउ र एलिप्पोमा उनले युद्ध र आतंकबीच उभिएका मानिसको आशा र हाँसो देखेँ । दैनिक बम वर्षा हुने सहरमा आफ्नो अस्तित्व जोगाएर भविष्यका कर्णाधार जन्माउन लागेको स्कुलको कथा देखेँ । उनी, दुःख, त्रास, आक्रोश र संवेदनाबीच आशाको सञ्चार गराउन चाहन्छन् । मृत्युमा जीवन र अन्धकारमा सम्भावनाको दियो खोज्छन् ।

पछिल्लो पटक श्रीलङ्काको मिरिसा बन्दरगाह नजिकै २५ वर्षदेखि डुङ्गा खियाउने पथमासिरीबारे उनले वृत्तचित्र बनाएका थिए । फोक्सोमा समस्या देखिएपछि उपचार गर्ने पैसा अभावले यी माझीको दैनिकी निरश बन्दै थियो । वृत्तचित्र प्रदर्शनपछि पथमासिरीले उपचारका लागि केही रकम पाएका छन् । यस्तै कथा खोज्न रिकार्डो एक साताअघि श्रीलङ्काबाट नेपाल आइपुगेका हुन् । दुई महिना यहाँ बिताएर फर्कने उनको योजना छ । यस अवधिमा अन्य केही कथाहरु पनि सुटिङ गर्ने योजना थियो । तर उनका सिनेमाटोग्राफर साथी माट सेट्लारन्डिस् कोरोनाका कारण अमेरिकामा क्वारेन्टाइनमा बस्न बाध्य छन् । त्यसैले अब आफूसँग भएको एउटै मात्र क्यामेराले ससाना कथा तयार गर्ने सोचमा छन्, रिकार्डो । सेट्लारन्डिस्ले अमेरिकाको अवस्था दैनिक कसरी बिग्रिँदैछ भनेर म्यासेज गर्ने गरेका छन् ।

अमेरिकाभन्दा जटिल अवस्थामा इटली छ । रिकार्डोका बाबु पनि टेलिभिजन प्रोड्युसर तथा डमुकेन्ट्री मेकर हुन् । फुटबल, फिल्म र पर्यटनका लागि प्रसिद्ध इटली अहिले ‘लकडाउन’ छ । उनका बाबु क्वारेन्टाइनमा छन् र फोनमार्फत भन्ने गर्छन्, ‘तिमी नेपालमै सुरक्षित छौँ । भाग्यमानी पनि छौँ ।’ आमा र तीन दिदीबहिनी भने रिकार्डोबारे बेला–बेला चिन्तित हुन्छन् ।

रिकार्डोको बुझाइमा वृत्तचित्रका दुई आधार छन्– स्वतन्त्रता र सत्य अर्थात् हामीले स्वतन्त्र ढङ्गले सधैँ सत्य बोल्न पाउनुपर्छ । कोभिड–१९ कोरोनाले निम्त्याएको सन्नाटालार्ई उनी ‘स्याड एन्ड ब्युटिफुल’ भन्न रुचाउँछन् । ‘म यहाँ सुरक्षित छु । इटलीमा बदलिएको जीवनको साक्षी बन्न भने पाइनँ,’ उनी भन्छन्, ‘धेरैले ज्यान गुमाए, त्यो दुखद् छ । बाँचेकाहरु घरभित्रै कैद छन् । त्यसैले भेनिसमा समुद्री किनारसम्म डल्फिन आउन थाले । रोम सुनसान छ । तपाईंले यहाँ पनि हिमाल खुलेको देख्नुहुन्छ अर्थात् मानिस रुँदा पनि प्रकृति हाँसेकै छ ।’

फेसबुकमा साथीभाइले पठाएका भिडियो हेरेर उनी चकित हुन्छन् । ‘मानिसहरु आआफ्नो बार्दलीमा निस्कन्छन् । एउटाले गीत गाउन थाल्छ, अर्कोले बाजा र अर्कोले ताली बजाउँछ,’ उनी भन्छन, ‘युरोपको जीवन निकै व्यस्त थियो । मानिसले सामाजिक हुनुको महत्त्व पीडामा मात्रै बुझ्ने रहेछन् ।’

नेपालीहरुमा रोग प्रतिरोधी क्षमता बलियो भएकाले कोरोनाको सङ्क्रमण नदेखिएको उनको बुझाइ छ । ‘इटलीमा उत्कृष्ट सेवा–सुविधा र अस्पताल छन् । विश्वकै उत्कृष्ट डाक्टर र उत्कृष्ट खाना उपलब्ध छ,’ उनी भन्छन्, ‘त्यसैले केही सानो समस्या भयो भने पनि हामीलाई रोगले भेट्छ । नेपालीको प्रतिरोधी क्षमता बलियो छ ।’

रेस्टुरेन्टका म्यानेजर मनोज गुरुङ पनि रिकार्डोको तर्कमा सहमत छन् । ‘मसँग कहिलेकाहीँ केही पर्यटकले तिमीहरुको देशमा पनि कोरोना आउला ? भनेर सोध्छन् । जवाफमा नेपालमा ३ करोड जनता छन्, ३३ कोटी अर्थात् ३३ करोड देवता छन् । त्यसैले कोरोना आउँदैन भन्दै ठट्टा गर्छु,’ मिलनले भने, ‘उनीहरु पनि ठट्टा गर्दै भन्छन्– नेपालमा हामीले पिउने पानी युरोपको गाईंलाई खुवायो भने पनि पखाला लाग्छ । हामी धुलो, धुवाँ, माटो खाएर बलियो भएका छौँ । हत्तपत्त छुँदैनजस्तो लाग्छ ।’

गुरुङले होटलमा काम थालेको २६ वर्ष भयो । यस अवधिमा सहायक वेटर, वेटर, क्याप्टेन बार म्यानका रुपमा काम गरे । ‘ऋतिक रोशन काण्डमा मैले पहिलो पटक ठमेल बन्द भएको देखेको थिए । त्यसपछि राजदरबार हत्याकाण्ड, इराकामा नेपाली मारिँदा, २०६२–६३ को जनआन्दोलनमा पनि ठप्पै थियो,’ उनी भन्छन्, ‘अहिले बन्द त भएको छैन । तर नयाँ पर्यटक छैनन्, यहाँ बसेका केही सीमित पर्यटक मात्रै आउने हुन् ।’

माथिल्लो तल्लाबाट झरेका दुई युवा यति नै बेला हामी नजिकैको टेबुलमा आइपुगे । अस्ट्रियाको ब्लोन्स गाउँका लुकास रुट्लर छैटौँ पटक नेपाल आएका रहेछन् र यस पटक उनीसँग आफ्ना गाउँले साथी मार्टिन निग्स्च पनि छन् । लुकास चार वर्षअघि पहिलो पटक खुम्बु नजिकैको गाउँमा स्वास्थ्यसम्बन्धी परियोजनामा आएका थिए । त्यसयता पटक–पटक नेपाल आए । यस पटक ११ दिनसम्म अन्नपूर्ण बेस क्याम्पमा ट्रेकिङ गरेर उनी बुधबार घर फर्कने तयारीमा थिए । २४ वर्षे लुकासको बुझाइमा कोरोनाको सङ्क्रमण उनको पुस्ताले अनुभव गरेको सबैभन्दा खतरनाक प्रकोप हो । ‘यस्तो महामारी युरोपमा मैले अनुभव गरेको थिइनँ । कोरोनाले वृद्धवृद्धालाई निकै समस्यामा पार्छ । त्यसैले म मेरी हजुरआमा र हजुरबाको अवस्थालाई लिएर चिन्तित छु,’ उनले भने, ‘केही दिन अझै बस्ने योजना थियो, फ्लाइट रद्द हुने खतरापछि हामी आजै (बुधबारै) फर्कंदैछौँ । अस्ट्रिया पनि इटलीजस्तै लकडाउन हुँदैछ ।’

अफ्रिकी र एसियाली देशका धेरै युवा सपना युरोप छिर्ने हुन्छ । लुकाससँगको भेटमा धेरै नेपालीले यस्तै सपना सुनाउँथे । ‘कार र पैसा भए पनि अब युरोपेलीसँग मनमा शान्ति छैन । मलाई लाग्छ अब बेरोजगारी बढ्नेछ । घर र गाडीको किस्ता तिर्न पनि समस्या हुनेछ । धेरैका सपना टुट्नेछन्,’ उनले भने, ‘असर नेपालसम्म पनि पर्नेछ । जस्तो, ठमेल अहिले शून्य छ । यहाँ पनि धेरैको रोजिरोटी खोसिएको छ ।’

अस्ट्रियामा १५ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् र सङ्क्रमितको सङ्ख्या अझै बढ्ने लुकासको अनुमान छ, चीन, इटली र इरानझैँ महामारी निम्तने भय पनि छ । ‘खाद्यान्न र अत्यावश्यक सामानबाहेक अन्य पसलहरु बन्द भइसकेका छन् । अस्पताल मात्रै खुला छन्,’ उनले भने ।

लुकास र मार्टिन हात हल्लाएर ‘गुड बाई’ भन्दै निस्किए । रिकार्डोको ध्यान सडकमा ग्राहक बोलाउँदै गरेका रिक्सावालाले ताने अर्थात् उनले झ्यालबाट चिहाए ।

तर रिकार्डोसँग आज रिक्सा चढ्ने होइन ठमेल हिँड्ने योजना छ । त्यसैले रिक्सावाला गोपाल थामीले अझै बोनीका लागि अझै केही समय कुर्नुपर्ने भयो, टायर जसरी नै ६४ वर्षीय गोपाल थामीको ऊर्जा पनि खिइँदो छ । उनी यसरी नै पर्यटकमाथि नजर लगाएर बस्छन् । कोही आए घुमाउन लैजान्छन्, नआए रिक्सामै सुतेर बस्छन् ।

ठमेलमा ३५ वर्षअघि घोडागाडा चलाउँथे, जतिबेला काठमाडौँ गेस्ट हाउस बनिसकेको थिएन, अनि ठमेलको मुख्य चोकमा अहिलेजस्तो चहल–पहल थिएन । ‘गोपाल दाइ’लाई थाहा हुँदा अहिलेको चाक्सीबारी रोड सिस्नुघारी थियो ।

बिस्तारै यो क्षेत्र भरिभराउ भयो, गोपाल थामीको ऊर्जा पनि बढ्दो थियो, उनी रफ्तारमा रिक्सा दौडाउँथे । कहिले पर्यटक बोकेर पशुपति र कहिले बौद्धसम्म पुग्थे । उनको बुझाइमा समयले पनि ठूला सवारीले जस्तै मारौँला झैँ गरेर पेल्यो । १७ वर्षअघि श्रीमती बितिन् । सन्तान नभएकाले दोस्रो बिहे गरे । दोस्री श्रीमतीबाट दुई छोराछोरी छन् । उनी बितेको पनि एक वर्ष भयो । काज–किरिया सकेर भर्खरै ‘गोपाल दाइ’ काठमाडौँ फर्किएका हुन् ।

‘साहुलाई दैनिक १ सय ५० भाडा बुझाउनुपर्छ । पहिले १० पटकसम्म कुदाइन्थ्यो, दैनिक हजारदेखि १२ सय मज्जाले हुन्थ्यो,’ उनले भने, ‘अब बोनी नहुने अवस्था छ । रोग आउँछ भन्ने पनि छ । कोठाभाडा र साहुलाई तिर्नुपर्ने पैसा पनि नआएपछि के गर्ने ? गाउँ (सिन्धुपाल्चोक–बाह्रबिसे) फर्किएरै खेतीपाती गर्ने सोचमा छुु ।’ बुढेसकालमा हण्डर–ठक्करका बाबजुद गोपाल दाइको अनुहारमा हाँसो र मनमा सकारात्मक सोच बाँकी छ ।

‘इट्स अ मिलियन डलर इस्माइल’ पैदलयात्रा गरिरहेका ब्रिटिस दम्पत्तीले उनको प्रशंसामा भने, ‘नेपालीहरु अभावमा पनि हाँस्छन् । ब्रिटिसहरु पैसा भएर पनि अभावमा बाँच्छन् ।’ ग्राहक भेटेपछि गोपाल दाइको हाँसो थप खुल्यो ।

लन्डनका एड्रियन मास्टर्स ७१ वर्ष पुगेर ७२ लाग्दैछन्, अनि श्रीमती क्लेया मास्टर्स ६६ वर्ष । क्लेया पेसाले नर्स हुन्, एड्रियन भौतिकशास्त्री तथा अनुसन्धानकर्ता । १८ वर्षको उमेरदेखि आफ्नो नर्सिङ करियर थालेकी क्लेयाले ५० वर्षको उमेरमा जागिर छाडिन् । यतिबेलासम्म उनीहरुका एक्लो सन्तान बेलायतमै जागिरे भइसकेका थिए । त्यसपछि यी वृद्धवृद्धा घुमन्ते बनेका छन् । वन्यजन्तु अवलोकन गर्ने, शान्त वातावरणमा रमाउने, ध्यान गर्ने, फोटो र भिडियो खिच्ने उनीहरुको आदत हो । ५ वर्षकी नातिनीले बारम्बार फोन गरेर आउन भनेको क्लेया बताउँछिन् । ‘अन्य व्यक्ति छोराछोरीबारे चिन्ता गर्छन् । हाम्रो हकमा नातिनीसमेतले चिन्ता गर्नुपर्ने अवस्था छ । हामी बच्चा जसरी घुमिरहेका छौँ ।’

पछिल्ला १५ वर्ष उनीहरु अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै देश घुमिसकेका छन् । युरोप त घर नै भयो । नेपालमा उनीहरु एक सिङ्गे गैँडा हेर्न आएका हुन् । अफ्रिकामा सेतो गैँडा हेरेपछि यस्तो भोक बढेको थियो । ‘भ्रमण वर्ष २०२० का सम्बन्धमा लन्डनमा प्रदर्शनी भएको थियो र हामी पुगेका थियौँ,’ एन्ड्रियनले भने, ‘जहाँ, हामीले एकसिङ्गे गैँडा र नेपालको सुन्दरताबारे बुझ्यौँ । नेपाली साथीहरुले वर्णन गरेजस्तै सुन्दर रहेछ, नेपाल ।’

एड्रियनलाई मनपर्ने अर्को पक्ष नेपालको मौलिक गीत–सङ्गीत पनि हो । उनी पोखरामा मन्दिर घुमे, रोदीघर पुगे । ठमेलमै उनले ‘मादल र सारङ्गी किने । ‘म जहाँ जान्छु, स्थानीय बाजा किन्छु । मसँग अफ्रिकादेखि दक्षिण अमेरिकासम्मका बाजाको कलेक्सन छ,’ एड्रियनले भने, ‘यहाँ भने व्यापार ठप्प भइसकेको रहेछ । त्यसैले मैले सस्तोमै पाएँ । यति सस्तोमा कहिल्यै बेच्नुपरेको थिएन भन्दै थिए ती व्यक्तिले ।’

लन्डनमा पछिल्लो समय चोरीका घटना बढेको, युवाहरुले सडकमै चक्कु हान्न थालेको उनको गुनासो छ । विकसित विश्वमा मानवता हराउँदै गएको उनको अनुभव छ । वन्यजन्तु तस्करी, वन फँडानी, आपसी युद्धलगायत मानिसका स्वार्थले संसारलाई खोक्रो बनाउँदै लगेको उनी बुझ्छन् । भन्छन्, ‘कोरोनाबारे अझै धेरै पत्ता लाग्न बाँकी छ । तर पक्का छ यो पनि आधुनिक समाजले निम्त्याएको समस्या हो । जब हाम्रो ग्रहले थेग्न नसक्नेगरी मानिसको भीड बढ्छ, अनि यस्ता महामारी देखिन्छन् ।’

४ मार्चमा नेपाल आइपुगेको यो जोडी बिहीबार लन्डन फर्किएको छ । खासमा उनीहरुको तयारी नेपालबाट भुटान र त्यसपछि दक्षिण अमेरिका जाने थियो । तर कोरोनाको त्रासपछि भुटानले विदेशीका लागि भ्रमण प्रतिबन्ध लगायो, त्यसैले चाँडै बेलायत फर्कन बाध्य भए । ‘नेपालीहरु मज्जाका छन् । केही साथीले मलाई घरमै आएर बस भन्दैछन् । तर म उनीहरुको भारी बन्न चाहन्न,’ उनले थपे, ‘यहाँका मानिस पारिवारिक छन् । उनीहरुसँग परिवार छ । लन्डनमा बाहिर निस्किएर कसैलाई हेल्लो भन्नुभयो भने पनि ऊसले तपाईंलाई पागल सम्झनेछ । मानिस निकै स्वार्थी भइसके ।’

क्लेयाले भनिन्, ‘लन्डन प्रदूषित पनि भइसकेको छ । मानिसका सोच र विचार पनि । २० वर्षअघि सिनेमामा देखाइएजस्तो सुन्दर छैन, अहिलेको लन्डन ।’

एड्रियनले भावुक भएर भने, ‘म नेपालमा खुसी छु, अफ्रिकामा खुसी थिएँ । माफ गर्नुहोला, म अब ब्रिटिस भएकोमा गर्व गर्न सक्दिनँ । तपार्इंले अझै नेपाली भएकोमा गर्व गर्न सक्नुहुन्छ । तपाईं केही कुरामा ध्यान दिनुस् । जस्तो :

– आफ्नो संस्कृतिलाई माया गर्नुस्, जोगाइराख्नुस् ।

– वृद्धवृद्धालाई आदर गर्ने र संयुक्त परिवारमा बस्ने परम्परा कायम रहिरहोस् ।

– नेपालीहरु सडकमा थुक्छन्, यो संस्कार नै बनिसक्यो । यो ठूलो गल्ती पनि हो । थुकमार्फत कोरोनाका जीवाणु फैलनसक्छन् । थुक्न छाड्नुहोस्, तपाईंको महानता हुनेछ ।

म पनि केही भन्छु । क्लेयाले थपिन् :

– ‘सतर्क रहनुस्, सावधान रहनुस् । तपाईंहरुको संस्कृति धनी छ । तर भाइरसमुक्त छौँ भनेर सोच्नुभयो भने त्यो ठूलो गल्ती हुनेछ ।

– नमस्ते निकै राम्रो छ । बेलायतका युवराज चाल्र्सदेखि डोनाल्ड ट्रम्पसम्म, नेदल्यान्डस्का राजा विलियम अलेजेन्डरदेखि पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टसम्मले नमस्कार गरिरहेका छन् । यसले अरूलाई छँुदैन । हात मिलाउन नमिल्ने भएपछि अहिले हामी जुत्ता लगाएरै खुट्टा मिलाउन पनि सक्छौंँ, किस नगरौंँ, सतर्क रहौँ ।

– मास्क लगाउनुस् तर जहाँ पायो त्यहाँ मास्क खोलेर नछाड्नुहोस् ।

प्रतिक्रिया दिनुहोस