अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो : एकैदिन ५६५ को मृत्यु, २० हजार नयाँ संक्रमित

काठमाडौं, १८ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)का कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १४८ पुगेको छ ।

चीनबाट सुरु भएको कोरोना महामारी पछिल्लो समय यूरोप हुँदै अमेरिकामा तीव्र रुपले फैलिरहेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म अमेरिकामा १ लाख ६३ हाजर ४७९ जना काेराेना संक्रमित भएका छन् । तीमध्ये ५ हजार ५०६ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले अमेरिकामा १ लाख ५४ हजार ८२५ जना कोरोना संक्रमित छन् । तीमध्ये ३ हजार ५१२ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा पछिल्लो एकैदिन १९ हजार ९८८ नयाँ संक्रमित फेला परेका छन् भने ५६५ जनाको मृत्यु भएको छ । जुन अमेरिकामा कोरोनाका कारण भएकाे हालसम्मकै उच्च मृत्यु हो । यसअघि एकैदिनमा ५१५ जनाकाे सम्म मृत्यु भएकाे थियाे ।

अमेरिकाकाे राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमणले आक्रान्त अमेरिकामा पछिल्लो हप्ता मात्रै ३३ लाख नागरिक बेरोजगार भएका छन् । व्यापार व्यवसाय ठप्प छन् भने अर्थतन्त्र डामाडोलको अवस्थामा छ ।

अमेरिकामा सबैभन्दा बढी न्यु योर्कमा संक्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ६७ हजार ३२५ जनामा काेराेना भेटिएकाे छ । सबैभन्द बढी मृत्यु पनि न्यु योर्कमै भएकाे छ । त्यहाँ एक हजार ३४२ जनाकाे मृत्यु भएकाे छ ।

न्यु योर्कपछि न्यु जर्सीमा काेराेनाकाे सबैभन्दा बढी संक्रमित छन् । त्यहाँ १६ हजार ६३६ जना काेराेनाबाट काेराेना संक्रमित भएका छन् । न्यु जर्सी मर्नेकाे संख्या १९८ पुगेकाे छ ।

त्यस्तै क्यालिफाेर्निया ७ हजार ४१३ जना काेराेना संक्रमित भएका छन् भने १४६ जनाकाे मृत्यु भएकाे छ । मिचिगनमा ६ हजार ४९८ संक्रमित भएका छन् भने १८४ जनाकाे मृत्यु भएकाे छ । मस्साचुसेट्समा ५ हजार ७५२ सक्रमित र ५६ जनाकाे मृत्यु भएकाे छ ।

फ्लाेरीडामा ५ हजार ७०४ संक्रमित हुँदा ७१ जनाकाे ज्यान गएकाे छ । अमेरिकाकाे राजधानी वासिङ्टनलमा ५ हजार २५० जना संक्रमित भएका छन् भने २१० जनाकाे मृत्यु भएकाे छ ।

कोरोनाको सबैभन्दा बढी संक्रमण हुने देश अमेरिका भए पनि सबैभन्दा बढी ज्यान गुमाउने देशमा इटाली रहेको छ । त्यहाँ हालसम्म ११ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

उद्गमस्थल चीनमा भने मृत्युदर घटिरहेको बताइए पनि सोमबार एकैदिनमा ४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ७५ हजार ७ सय जना भने निको भइसकेका छन् । अहिले २ हजार ४६६ जनामा सक्रिय संक्रमण रहेको छ ।

विश्वभर भने अहिलेसम्म काेराेनाका कारण ३७ हजार ७८१ जनाकाे ज्यान गइसकेकाे छ । ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये १ लाख ६५ हजारभन्दा बढी पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले ५ लाख ८१ हजारभन्दा बढीमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोना भाइरसको प्रकोप अहिले विश्वका सबैजसो देशहरुमा फैलिसकेको छ । नेपालमा पनि यसका ५ जना संक्रमित देखा परेकोमा १ जना निको भइसकेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस