कोरोनाको डरले वडासचिवले नर्सलाई घरबाट निकाले, सचिव प्रहरी नियन्त्रणमा

घोराही, १८ चैत । घोराहीमा एकजना वडा सचिवले आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेपछि प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरबाट निकालेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय दाङले घरबेटीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराइले सञ्चारमाध्यममा समाचार आएपछि आफै चासो ब्यक्त गर्दै डेराबाटै नर्स निकालेको आरोपमा घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रहरीले घरबेटी आचार्यलाई समातेर ल्याइसकेको र कानून बमोजिम कारबाही हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दै आएकी एक नर्सलाई आचार्यले डेराबाट निकालेका थिए । घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन् ।

स्टाफ नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरी बस्दै आएकी थिइन् । गत १५ गते डेराबाट निकालिएकी नर्स खड्का अहिले घोराहीस्थित एक होटेलमा बस्दै आएकी छिन् ।

‘तिम्रो कारण कोरोना संक्रमण हुने खतरा भयो भनेर उहाँहरुले मलाई भन्नु भयो’, उनले भनिन्, ‘मैले आँफू सुरक्षित रहेर काम गरिरहेकाले कुनै डर नहुने भन्दै सम्झाएँ , तर पनि उहाँले मान्नु भएन ।’

अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले खड्काका कारण आँफूहरु असुरक्षित रहने भन्दै घरबेटीले कोठा छोड्न दबाब दिएका थिए । ‘कित अस्पताल नजाउ, कि भने तिम्रा लागि सधैँका लागि गेट बन्द हुन्छ भन्नु भयो’, उनले भनिन् ‘अस्पतालले बिदा दिने कुरै भएन, अनि कोठा छोड्न बाध्य भएँ ।’

यता घरबेटी आचार्यले भने आँफूले पेशासंग जोडेर कोठा छाड्न नभनेको दावी गरेका छन् । खड्का लगाएत कोठामा तीनजना बस्दै आएको र कोठा सानो भएकाले अर्को कोठाको व्यवस्थापन गर्न भनेको आचार्यले वताए ।

‘मैले पेशासंग जोडेर कोठा छोड्न भनेको हैन,सानो कोठा भयो अर्को कोठाको व्यवस्थापन गर्नु भनेर भनेको हुँ’, उनले भने ‘म सरकारी मान्छे त्यसरी भन्ने कुरै भएन ।’

नर्स खड्काका अनुसार उक्त कोठामा खड्काकी एकजना साथी र ति साथीका दाजु बस्दै आएका थिए । सुरुमा उक्त कोठामा खड्काकी साथी बस्दै आएकी थिइन् । उनै साथीले घरबेटीसंग सल्लाह गरेर खड्कालाई पनि आफ्नो कोठामा बस्न भनेपछि खड्का गत मंसिरमा त्यहाँ गएकी थिइन् ।

‘उहाँले कोठा सानो भएको भनेर भन्नु भएको हैन,मैले बेकारमा उहाँलाई आरोप लगाउने कुरै भएन नि’, खड्काले भनिन् ‘कोरोनाको संक्रमणको त्रास फैलन सुरु भएदेखि उहाँहरुले अस्पताल तिरै बस्ने व्यवस्था मिलाउन भनेर भन्दै आउनु भएको थियो, तर हामीहरु त्यहिँ बसिरहेपछि कोठा छोडनै पर्ने भनेर दबाब दिनु भएको हो ।’

खड्काकी साथी पनि घोराहीकै एक मेडिकलहलमा काम गर्छिन् । उनी भने मेडिकल हल बन्द भएपछि अहिले रोल्पास्थित घर गएकी छिन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कोरोनाको सन्त्रासका बेलामा कोहि कसैले पनि डेरबाट निस्काशन गर्नु राम्रो नभएको भन्दै यसबिषयमा अनुसन्धान थालिने बताउनुभएको छ । ‘यो पाच्य काम हैन, यस बिषयमा म बुझ्छु’ प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस