छाक टार्न मुस्किल भएपछि काठमाडौंदेखि हिँडेरै नेपालगन्ज जानका लागि निस्किए मजदूर

काठमााडौं- दिउँसो १ बजे तिर टन्टलापुर घाम छिचोल्दै स्वयम्भु हुँदै ३० जनाभन्दा बढी संख्यामा एक हुल कलंकी चोक आइपुग्छ।

बनेपाबाट उपत्यकाको धुलो, घाम, पानी छिचोल्दै ४ दिन हिडेर कलंकी आइपुगेको त्यो हुलबाट एउटा आवाज सुनिन्छ, ‘हामीलाई सय/पचास रुपैयाँ भए पनि दिनुस् न। बच्चा भोकै छ। दिदी दिनुस् न।’

थकित अनुहारमा साइकल सडकको पेटीमा बिसाउँदै नेपालगन्जका गोविन्द कुमार हात लम्काउँछन् र फेरि पनि भन्छन्, ‘खाने सामान केही छैन।बच्चा भोकै छ। थोरै सहयोग गर्नुस् न।’

साइकलभरी लुगाफाटो, भाडाकुडाको पोको राखिएको छ। गोविन्द कुमारले एउटा ३ वर्षको बच्चा साइकलको अगाडि राखेका छन्। अर्को बच्चा उनको पछिपछि दौडिरहेको छ। छोरी छेउमै हिडिरहेकी छन्।

‘सबैभन्दा सानु काखको नानी श्रीमतीले बोकेर पछाडि आउँदैछिन्। के गर्नु हामी जसरी पनि नेपालगन्ज जानुपर्नेछ। बाटैमा मरिए पनि मरियोस्।’ गोविन्द कुमार सुनाउँछन्।

यसअघि उनी दिनभरी सहर डुलेर प्लास्टिकका भाँडाहरुको व्यापार गर्थे । व्यापार गरेबापतको फाइदाबाट बिहान बेलुकाको छाक टार्थे। भाँडा बेचेको पैसाले श्रीमती र छोराछोरीलाई छाक टार्न बडो मुस्किल हुन्थ्यो।

‘यो के भाइरस आएको भन्छन्, त्यसपछि प्लाष्टिकको भाँडा पनि बिक्री भएन। के खाने? कसरी बस्ने? समस्या हुन थाल्यो’ गोविन्द कुमार सुनाउँछन्।
खान बस्न समस्या भएपछि उनीहरु सहयोग माग्दै सहरतिर भौँतारिए।

‘खुल्ला ठाउँमा रात बिताए। खुल्ला ठाउँमा बस्दा पनि पुलिसले लखेट्छ। हामी बोलेको कोही सुन्दैन। आफू त त्यस्तै हो। साना केटाकेटीको बिजोग भयो‚’ गोविन्द कुमार साइकल गुडाउँदै लम्किए।

हातमा पानीको बोत्तल। केहीका हातमा चाउचाउको पोको। टाउकामा लत्ताकपडाका पोकाहरु र प्लास्टिकका बाटाहरु। हिँडेरै भए पनि नेपालगन्ज पुग्ने हिम्मत गरेर निस्किएको हुलमा भर्खर जन्मिएका केटाकेटीदेखि बुढाबुढीसम्म छन्।

छेवैबाट पृष्ठभूमिमा फेरि अर्को आवाज थपिन्छ, ‘दिदी पैसा दिनुन भोक लागेको छ।’ सानी बालिका हात लम्काउँछिन्।

‘खान पनि पाइएन, हाम्रो घर छैन। खुल्ला ठाउँमा बसौँ भन्दा बस्न दिँदैन। हामी कहाँ जाने के गर्ने? मर्नुभन्दा माग्दै खाँदै हिँडेको। बरु बाटोमा हिँड्दा हिँड्दै मरियोस्’ हुलबाटै नेपालगन्जका सकिन्दर ठाकुरले सुनाए।

सकिन्दर सडकको छेउतिर सिलौटा खोपेर गुजारा गर्थे। ‘हामी मजदूरी गर्ने मान्छे। बाटैमा बस्थ्यौँ बाटैमा खान्थ्यौँ। अब के गरी खाने‚ काम गर्न पनि दिएन’ उनका आँखा टिलपिलाउँछन्।

उनले दिनभरी काम गरेर बिहान–बेलुकाको छाक टार्न पुर्‍याउँथे। श्रीमती र ६ जना छोराछोरी मुस्किलले पालेका थिए।

दैनिक काममा खटेर बिहान-बेलुका हातमुख जोर्न मुस्किलले पुर्‍याउँदै आएका सकिन्दरको हातमुख जोर्ने बाटो कोरोना भाइरस संक्रमणका कारण खोसियो।

‘काठमाडौंमा बसेर भोकै मर्नुभन्दा बाटोमा हिँड्दाहिँड्दै मरियोस् बरु। कोही बाटोमा जन्मिन्छन् कोही मर्छन् के गर्नु?’ चेतनारायण हिँड्दाहिँड्दै बाटैबाट प्रश्न गर्छन्।

कोभिड १९ (कोरोना भाइरस) रोकथामका लागि सरकारले लकडाउन लगाएसँगै दैनिक ज्यालादारी गरेर गुजारा टार्ने अर्थात हुँदाखाने वर्ग सबैभन्दा बढी मारमा परेको छ।

दैनिक ज्यालादारी गर्ने मजदूरका लागि सरकारले राहत प्याकेज ल्याएको छ।

आइतबारको मन्त्रीपरिषदको बैठकले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई लकडाउन अवधिभरका लागि खाद्य सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको छ।
तर‚ त्यसका लागि श्रमिकहरुले सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नुपर्ने हुन्छ। सरकारले श्रमजीविका लागि ल्याएको प्याकेज सहज नहुँदा उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेहरु समस्यामा परेका छन्।

उपत्यकामा खान बस्नसमेत समस्या भएपछि लकडाउनकाबीच पनि कोही हिँडेरै त कोही मालबाहक सवारी चढेर घर फर्किन थालेका छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस