उपप्रधानमन्त्री र अर्थमन्त्रीसँग रिसाए ओली, जनता जागेपछि २५ विज्ञ डाकियो

काठमाण्डौ, सुर्खेत, वीरगञ्ज लगायतका क्षेत्रमा सरकारको लकडाउनविरुद्ध प्रदर्शन भएपछि गम्भीर बनेका प्रधानमन्त्रीले आफ्नै मन्त्री तथा क्याबिनेटमा रहेका विज्ञहरुलाई समेत बेवास्ता गरी बाहिरका विज्ञहरुलाई छलफलका लागि बोलाएका छन् । जसलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।

हिजोदेखि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई बोलाएर लकडाउनको मोडालिटीको विषयमा छलफल सुरु गरेको थियो । उच्चस्तरीय समितिले बुधबार पनि विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गर्न खोजेको थियो । तर, उच्चस्तरीय समितिको बैठकलाई समेत बेवास्ता गरी प्रधानमन्त्री आफैं सक्रिय भएका हुन् ।

1588509295nlic1.gif
उच्चस्तरीय समितिबाट भइरहेको छलफलमा एकाएक प्रधानमन्त्रीले नै हस्तक्षेप गरेको शैलीमा सक्रियता देखाई केही विज्ञलाई सोझै बालुवाटार बोलाएपछि नागरिकस्तरबाट सरकारविरुद्ध भएको प्रदर्शन र लकडाउनको स्वस्फूर्त उल्लंघनको घटनाबाट प्रम ओली गम्भीर बनेका स्रोतको दाबी छ । प्रधानमन्त्रीले बुधबार बिहान जनताको भावनालाई बुझ्ने गरी लकडाउनको मोडालिटीको विषयमा समयमै किन काम नगरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत झपारेका बालुवाटारस्थित उच्च स्रोतले दाबी गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री ओली अर्थमन्त्री डा. खतिवडाको कामप्रति सन्तुष्ट छैनन् । खतिवडाकै जोडबलमा ‘कर उठाउन सकिन्छ, कुनै गाह्रो पर्दैन’ भनेर क्याबिनेटकै सहमतिमा आन्तरिक राजश्व विभागले जेठ २५ गतेभित्र कर बुझाउन तागेता गरी सूचना जारी गरेको थियो। यही सूचनाका कारण सम्पूर्ण निजी क्षेत्र पनि अहिले सरकारविरोधी बन्न पुगेको छ । निजी क्षेत्र नै सरकारको विरुद्धमा उत्रिएपछि ओली अप्ठ्यारोमा परेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस