लकडाउनको नयाँ मोडालिटी अनुसार सञ्चालनकोलागी क्षेत्र वर्गीकरण

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरुले लकडाउनलाई खुकुलो बनाउने जनाएका छन् । उनीहरुले नयाँ मोड्यालिटि बनाएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।

नेपालका अध्यक्ष श्रेष्ठले बिहीबार तीनवटै प्रमुख जिल्ला अधिकारीहरु समक्ष कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका थिए । यी सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएका चेम्बरका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरुसँगको भेटमा उक्त सुझाव पेश गरेका हुन् ।

 

काठमाडौं उपत्यकामा व्यवसाय सञ्चालन गर्नलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरिएको छ । यस विषयमा बिहीबार काठमाण्डौ, भक्तपुर र ललितपुरगरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहमति जनाए पश्चात उपत्यकामा व्यवसाय सञ्चालन गर्नलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार व्यवसायलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरी सञ्चालन गर्न सकिने प्रस्तावमा तीनै जिल्लाका प्रजिअहरुले सहमति जनाए पश्चात व्यावसायकालागी रेड जोन, यल्लो जोन र ग्रीन जोन गरी तीन क्षेत्रमा वर्गीकरण गर्ने र कुन क्षेत्रमा के के खुलाउने भन्ने विषयमा व्यापक छलफल भएको थियो । व्यावसाय सञ्चालनको विषयमा गरिएको छलफलमा साँझ ८ बजेदेखि विहान ५ बजेसम्म सबै क्षेत्रमा लकडाउन कडा पार्ने र अन्तर प्रदेश सडक सञ्जाल तथा हवाई यात्रा सबैतिर बन्द गर्ने चेम्बरले प्रस्ताव राखेको छ ।

श्रेष्ठका अनुसार कोरोना संक्रमण फैलन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर कम जोखिम भएका क्षेत्रहरुमा उद्योग–व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताईएको छ । हरियो र पहेलो क्षेत्रमा जिल्लाभित्र दूरी कायम गरेर सवारीसाधन भने सञ्चालनमा ल्याउनुपर्ने चेम्बरले बताएको छ । उद्योगधन्दा, बैंक तथा वित्तीय सेवा, सामान ढुवानीलगायत भने सबै क्षेत्रमा खुलै राख्नुपर्ने प्रस्ताव गरिएको चेम्बर अध्यक्ष श्रेष्ठले बतए ।

उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितका पदाधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको उपस्थिति रहेको थियो । उपस्थित सबैले लकडाउनको समयमा व्यवसाय सञ्चालन गर्ने विधिका विषयमा छलफल गरेको जनाईएको छ ।

 

बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड–१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको हो । सरकारले यही जेठ ३२ सम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस