धान्नै नसक्ने गरी संक्रमित बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

नेपालमा कोरोना संक्रमतिको संख्या बढेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । २ हजारभन्दा बढी कोभिड १९ को एक्टिभ केस भएपछि गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य संकटकाल घोषणा गर्नका लागि मन्त्रीपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको थियो । स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजनामा २ हजारभन्दा बढी संक्रमित भेटिए जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ को उपदफा ४ बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि उपचार पहिचान नियन्त्रण गर्न जनशक्ति, अस्पतालमा बेड, क्वारेन्टाइनको क्षमता नपुग्ने भएपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको हो ।
विश्वमै पहिलो कोभिड १९ संक्रमित चीनमा ३१ डिसेम्बर २०१९ मा पत्ता लागेको थियो । चीनको हुवेई प्रान्तको राजधानी ऊहानमा पहिलो पटक देखापरेको बाट सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरस १८ देशमा फैलिसकेपछि पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्नले महामारीको रुपमा ११ मार्च २०२० को दिन घोषणा गरेको थियो ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट स्वदेश फर्किएका एक जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत चैत्र ११ देखि गरेको लकडाउनलाई निरन्तरता दिइरहेको छ ।
कस्तो अवस्थामा संकटकाल घोषणा गरिन्छ ?

कोरोना संक्रमितको संख्या बढ्दै गएर स्वास्थ्यकर्मीको अभाव, अस्पतालमा भेन्टिलेटर, आइसोलेसन, बेड र क्वारेन्टाइनको अपुग भएपछि स्वास्थ्य संकटकालको घोषणा गरिन्छ । तीव्र रुपमा रोग फैलिएर पहिचान उपचार तथा नियन्त्रण गर्न स्वास्थ्य पूर्वाधारको नपुगसँगै धनजनको क्षति भई जोखिम बढेपछि स्वास्थ्य संकटकालको घोषणा गरिने जनस्वास्थ्यविद् एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीले बताए । नेपालमा २००५ मा इन्टरनेसनल हेल्थ रेगुरेसन विधान लागू भएपछि अन्तर्राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गर्न सुरु गरिएको समेत उनले बताए । यसअघि जनवास्थ्य संकटकाल घोषणा गर्ने परिपार्टी थिएनन् ।

प्रतिक्रिया दिनुहोस