नागरिकता सम्बन्धी अधिकार खोस्न खोजे आन्दोलन गर्छौं: जनमत पार्टी

सिके राउत नेतृत्वको जनमत पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा: रहेको नागरिकता विधेयकमा राख्न लागिएका व्यवस्थाप्रति असहमति जनाएको छ।

संसदमा पठाउन लागिएको नागरिकता विधेयक मधेशीलगायत उत्पीडित वर्गका जनताले पटकपटक गरेका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरूप्रति प्रतिगामी र जनचाहनाविपरीत रहेको उसको भनाइ छ।

पार्टीका केन्द्रीय सदस्य चन्दनकुमार सिंहले आइतबार विज्ञप्ति निकालेर नागरिकता सम्बन्धी अधिकार खोस्ने र मधेशीलगायत जनतालाई अनागरिक बनाउनेतिर लक्षित रहेको भन्दै एकजुट हुन आग्रह गरेका छन्।

जनताका अधिकार खोस्न खोजिए आन्दोलन गर्ने जनमत पार्टीको भनाइ छ।

विदेशी बुहारीलाई ७ वर्षपछि अंगिकृत नागरिकता प्रस्ताव बहुमतले पारित

काठमाडौं । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आइतबार समितिको हलमा बसेको बैठकले बैवाहिक अंगिकृत नागरिकता ७ बर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ ।

पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रतिनिधि सभाको पूर्ण बैठकमा पेश हुनेछ । आजको बैठकमा सो विधेयकमाथि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले फरक मत दर्ता गरेका छन् । उनीहरुले पहिलेदेखि नै नागरिकता सम्बन्धी ऐन २०६३ अनुसार नै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने बताउँदै आएका थिए । विदेशी नागरिकता त्यागेपछि नेपालमा तुरुन्तै नागरिकता दिने विषयमा नेकपाका सांसदहरुले भने विरोध गर्दै आएका थिए । नेकपाको शनिवार बसेको सचिवालय बैठकले बैवाहिक अंगिकृत नागरिकता ७ बर्षपछि मात्रै दिने विषयमा निर्णय गरेको थियो ।

नेपाली कांग्रेस र जसपाले भने यो प्रावधानले दुई देशबिचको सामाजिक, सांस्कृतिक सम्बन्धमा असर पार्ने भन्दै विरोध जनाउदै आएका छन् । झन्डै २ वर्षदेखि संसदीय समितिमा विचाराधिन नागरिकता सम्बन्धी बिधयेक प्रतिनिधिसभामा पेश हुँदैछ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस