बीबीसीले लेख्यो भारतकै यो कदमका कारण नेपाललाई आफ्नो भूमि फिर्ता लिन सहज

 

काठमाडौं । नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी विवाद चर्के पनि दुई देशले सम्वाद र सहकार्यकै आधारमा अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव दिएका छन्। बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको केही घण्टामै भारतले आफ्नो आपत्ति जनाउँदै उक्त नक्सा नस्वीकार्ने बताएसँगै विवाद झन् गहिरिएको हो।

केही विज्ञहरूले भने भारतले चालेको कदम र नेपालको प्रतिक्रियाले दुई देशलाई सँगै बसेर छलफल गर्नका लागि स्पष्ट आधार तय गरिदिएको बताउँछन्। कोरोनाभाइरसको विश्वव्यापी महामारीकाबीच चर्किएको सीमा विवादलाई दुई देशले कूटनीतिक वा उच्च स्तरीय राजनीतिक छलफलद्वारा टुङ्ग्याउनुपर्ने मत उनीहरूको छ। भूतपूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा नेपाल र भारत दुवैले विवादित मानेको भूमिमा भारतले आफ्नो हिसाबले काम गरेको अवस्थामा नेपालले प्रतिक्रिया जनाएको बताउँछन्। सीमासम्बन्धी विवादका विषयमा कुनै पनि मुलुकसँग सम्झौता गर्ने छुट नहुने बताउँदै थापा नेपालले अहिले पनि सम्वादकै माध्यमबाट समस्या हल गर्न खोजेको र त्यही बाटोमा अघि बढ्नुपर्ने बताउँछन्।

थापा भन्छन्, “सम्वादको ढोका बन्द गर्नु भनेको छिमेकीलाई पछि धकेल्नु हो।” “नेपाल र भारत सम्बन्धमा उतारचढाव नदेखिएको होइन। नेपालले आफ्नो नक्सा निकाल्दै गर्दा पनि सम्वादको बाटो त्यागेको छैन। भारत पनि यस अघिसम्म सम्वादकै पक्षमा देखिएको थियो।” “अब पछिल्लो वक्तव्य पछि चाहिँ सम्वादका लागि भारत कहाँ छ भन्ने कुरा कूटनीतिक तवरबाट नेपालले बुझ्नुपर्छ।”

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस