सशस्त्र प्रहरीले चीनको सिमाना जोडिएको क्षेत्रमा हतियार र पोषाकसहित गस्ती बढायो

जोमसोम । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको हिमाली जिल्ला मुस्ताङको उत्तरी कोरला नाकालगायतका स्थानमा सशस्त्र प्रहरी युनिटले नियमित गस्तीलाई तिब्रता दिएको छ। सरकारले सिमित श्रोत साधनका बाबजुत गत जेठ १५ गते मुस्ताङको लोमान्थाङ-१ नेचुङमा सशस्त्र बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको हो। अहिले यहाँ सीमा सुरक्षाका लागि खटिएका करिब २५ जना सशस्त्र प्रहरी जवानले सीमा क्षेत्र गस्ती गर्ने कार्यलाई अघि बढाएका हुन्।

सशस्त्र बलको टोलीले कोरला नाकामा खटिएका चिनियाँ सुरक्षा अधिकारीको द्विपक्षीय समन्वयमा हतियार र पोषाकसहित गस्ती गर्ने कामलाई अघि बढाएको नेचुङस्थित बीओपीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर श्रेष्ठले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। बीओपी स्थापनाको एक महिना पुग्न लाग्दा ५ वटा पिल्लरको अनुगमन सम्पन्न भएको उनले बताए।

उनले डोल्पातर्फको क्षेत्रमा सिमाना जोडिएको २०, २१, २२, २३ र मुस्ताङतर्फको २४ नम्बर पिल्लर गरी कुल ५ वटा जंगे पिल्लरको अनुगमन भइसकेको जानकारी दिए। उनले अब छिट्टै डोल्पातर्फ बाँकी रहेको १८ र १९ र मनाङतर्फको २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ नम्बर पिल्लरको अनुगमन तथा निरीक्षण गर्ने योजना रहेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए।

समुन्द्री सतहदेखि करिब ५ हजार मिटर अग्लो उचाईमा अवस्थित उत्तरी कोरला नाकाको सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलको उपस्थितीले विगतमा हुने अवैध गतिविधि तथा तस्करी रोकथाममा टेवा पुगेको जनाइएको छ।

उत्तरी चीनको कोरलापासँग सीमा जोडिएको डोल्पातर्फ ६ वटा र मनाङतर्फ ९ वटा पिल्लर छन्। २४ नम्बर पिल्लर भने नेपाल-चीनको मुख्य आधार प्वाइन्टको पिल्लर मानिएको छ। यी १६ वटै पिल्लर मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग जोडिएको छ। चीनपक्षसँग समन्वय गर्दै सबै पिल्लरको गस्ती गरिने निरीक्षक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस