बारा, पर्सा र सर्लाहीमा प्रवेश गर्‍यो सलह

 

काठमाडौं- नेपालमा सलत किरा प्रवेश गरेका छन् । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका हुन् ।

बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए।

हुमागाइँका अनुसार नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको उनले बताए । नेपाल प्रवेश गरेको सलह कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका विज्ञहरुले अध्ययन गर्नुपर्ने उनले बताए ।

मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने हुमागाइँले बताए । ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने पनि हुमागाईँले जानकारी दिएका छन्।

पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने उनको अनुमान छ ।

के हो सलह किरा ?

सलह किरालाई अग्रेजीमा (लकस्ट) भनिन्छ । सलह त्यस्तो प्रकारको किरा हो यो उड्दा सुर्यको प्रकाश नै छेक्छ । धेरै मरुभूमि भएको स्थानमा यो किराको बढी प्रकोप हुन्छ ।

सलह किरा एक-अर्कामा झुम्दै बथान भएर उड्छन् । जहाँ एउटा बथानमा करिब ४ करोड भन्दा बढी किरा हुने गर्छन् । आजभन्दा ७० वर्षअघि नेपालमा सलह किरा देखिएको थियो ।

सलह किराले कुनै निश्चित बाली खाने भन्ने हुँदैन । यी किराले जहाँ हरियाली देख्छन् त्यही खाइदिन्छन् । जुन सिजनको बाली छ त्यही सिजनको बालीलाई सखाप पार्ने विभागका पूर्व महानिर्देशक शर्माले बताए ।

‘कतिपय किराहरु निश्चित अन्नमा मात्रै लाग्छन्’ उनले भने, ‘तर सलह किरा यस्तो प्रकारको किरा हो जसले हरियो बाली देख्नै हुँदैन ।’

३५ हजार व्यक्तिको खाना ४ घण्टामा खाइदिन्छ

सलह किराको बथानले करिब ३५ हजार व्यक्तिले एक दिनमा खाने खाना ३ देखि ४ घण्टामै सखाप पार्ने उनको भनाई छ ।

‘यी किराले ३ /४ घण्टामै करिब ३५ हजार मानिसले एकदिनमा खाने खाना खाइदिन्छन्’ शर्माले भने, ‘त्यस्तै १ सय ५० किलोमिटरसम्म उड्न सक्छ ।’

त्यसो त भारतमा धेरै पहिलेदेखि सलह प्रवेश भएको थियो । उनकाअनुसार भारतमा सन् १८१२ मा देखि सलहको प्रवेश भएको थियो ।

‘भारतमा समय समयमा यो किरा आइरहन्छ । त्यो नौलो होइन यसअघि युपीआरसम्म मात्र आइपुग्थ्योे’ शर्माले भने, ‘यसपटक युपीको नर्थपार्कसम्म आइसकेको छ । त्यसकारण नेपालमा प्रवेश गर्ने सम्भावना बढी छ ।’

भारत र नेपालको बोर्डर हुँदै सलह नेपाल प्रवेश गर्ने हुँदा भारत सरकारसँग पनि समन्वय गर्नु आवश्यक रहेको उनको भनाई छ ।

न्यूनीकरण गर्न के गर्नुपर्ला ?

सलह किरा नेपाल पस्नु अगावै सरकारले यसलाई नियन्त्रण गर्न कदम चाल्नुपर्ने देखिन्छ । यसलाई व्यवस्थापन गर्न तत्काल समूह गठन गर्नुपर्छ ।

क्याम्वोरिया र लावामा पुगि सलह किराबारे बुझ्ने अवसर पाएको बताउँदै उनी सुनाउँछन्, ‘यी किरालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारे मैले केही बुझेर आएको छु ती देशबाट ।’

नेपालमा सलह आउन रोक्न स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकारको भूमिका रहने बताउँदै उनी भन्छन्, ‘आकस्मिक योजना बनाउनुपर्छ कुनै किराहरुको आउट ब्रेक हुँदा तत्कालिन त्यो किराको व्यवस्थापन गर्नका लागि इमरजेन्सी योजना बनाउनुपर्छ ।’

यदी योजना बनाउन सकिएन र किरा आइहाल्यो भने समस्या उत्पन्न हुन्छ र सबै आतिन्छन् ।

‘के गर्ने कसो गर्ने भन्दाभन्दै एकैदिनमा सबै सखाप पारिसक्छ त्यसकारण यो अन्य किरा जस्तो होइन पर्खौं र हरौं भन्न मिल्दैन’ उनले भने ।

‘पहिला प्राविधिकसहितको समूह बनाउने, सामग्री तथा औजारदेखि त्यसका लागि चाहिने कानुन समेत स्वीकृत गर्नुपर्छ’ तयारीबारे बताउँदै शर्मा भन्छन्, विदेशमा हवाइजहाजबाट स्प्रे छर्किरहेका छन् । नेपालमा त्यस्तो व्यवस्था छैन तर ड्रोनमार्फत विषादी प्रयोग गर्न सक्छौं ।’

मानिसको स्वास्थ्य र वातावरणलाई असर नपार्ने ‘मालाथिन ९६ प्रतिशत’ को विषादी प्रयोग गर्न सकिने उनको भनाई छ ।

किसान सचेत बन्नुपर्छ

कृषकहरु पनि यसबाट सचेत रहनुपर्छ । सचेत रहन सकिन्छ । जसका लागि बालीमा किराहरु उडेको छ कि छैन ख्याल राख्नु जरुरी छ ।

त्यसका लागि कृषकले मात्र होइन बोर्डरमा अहिले सुरक्षाका ट्राफिक प्रहरीहरु खटेका छन् ।

भन्सार, क्वारेनटिन लगायत सबै कार्यालयले यस्ता किरा उडेर आएको छ कि छैन सम्बन्धित स्थानीय, प्रदेश वा केन्द्रीय सरकारलाई खबर गर्नुपर्ने हुन्छ ।

‘किसान एक्लैले सलह किरालाई रोक्न सक्दैन तर यसमा किसानको पनि भुमिका रहन्छ’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘कोरोना महामारी फैलिरहेका बेला सलह नेपाल प्रवेश गर्यो भने ठूलो क्षति पुग्छ ।’

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस