सुदूरपश्चिममा कोरोनाको संक्रमण दर उच्च

बिहीबार एकै दिन ३ सय ३३ जना कोरोना संक्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ९ सय ३३ पुगेको छ।

प्रदेशको कैलाली जिल्लामा एकै दिन १ सय ३८ जना नयाँ संक्रमित थपिएपछि यो जिल्लामा संक्रमितको सङ्ख्या ८ सय ७४ पुगेको छ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना संक्रमित पुगेको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

बिहीबार बझाङबाट २०, कैलालीबाट चार, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको सङ्ख्या ५ सय ६१ पुगेको छ।

कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म छ जनाको मृत्यु भएको छ।

पछिल्ला दिनमा कोभिड–१९ को संक्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ। प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए।

वैशाख महिना शुरु हुँदासम्म पाँच जना संक्रमित फेला परेकामा त्यस पछि झण्डै एक महिनासम्म नयाँ संक्रमणको दर स्थिर रहेको थियो तर कोरोना संक्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा संक्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस