भैंसी चराउन गएकी बालिकाको २ दिनपछि अर्धनग्न अवस्थामा भेटियो शव, कुटीका बाबा नियन्त्रणमा

धनुषामा एक बालिका शुक्रबार बिहान मृत फेला परेकी छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा १० वर्षीया कञ्चनकुमारी पञ्जियारको शव अर्धनग्न अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

बुधबार दिउँसो भैंसी चराउन गएकी कञ्चन अबेर रातिसम्म पनि घर नआउँदा रातभर खोजी गर्दा नभेटिएपछि उनको परिवारले बिहीबार बिहानै अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए।

आज बिहान एक जना स्थानीयले खेतमा धान रोपिरहेका बेला दूधमती नदीको किनारमा गन्ध आएपछि हेर्न जाँदा बालिकाको शव देखेका थिए। पछि उनैले प्रहरी र स्थानीवासीलाई समेत जानकारी गराएका थिए।

बालिकाको शव देख्दा बलात्कारपछि उनको हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। बालिकाको शव भेटिएपछि प्रहरीले उक्त स्थानलाई तारबार गरी सिल गरेको छ।

‘बुधबार दिउँसोतिर कञ्चन भैंसी चराउन गएकी थिइन्, अन्य दिन साँझ पर्नेबित्तिकै घर आउँथिन्, उक्त दिन आइनन्, त्यही दिन आफन्तकहाँ भोज पनि थियो, उतै गएकी हुन् कि भनेर चौरमै रहेका भैंसीलाई उनको बुवा उमेश पञ्जियारले ल्याउनुभयो’ कञ्चनका काका विजय पञ्जियारले भने।

रातिसम्म उनी नआएपछि परिवार खोज्न निस्किएकाे थियाे। कतै पनि नभेटिएपछि बिहीबार अस्थायी प्रहरी चौकीमा उजुरी समेत दिएकाे विजयले बताए।

‘हामीले पनि खोजी गरिरहेका थियौं, त्यतिकैमा एक जनाले आएर भन्नुभयो कि बालिकाको शव भेटिएको छ’ उनले भने।

यता घटनाबारे अनुसन्धान गर्ने क्रममा स्थानीयकाे आशंकापछि प्रहरीले एक जना अघोरी बाबालाई नियन्त्रणमा लिएकाे छ।

धनुषाका डिएसपी कार्कीले अनुसन्धानको लागि एक कुटीका अघोरी बाबालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस