मन्त्रीहरुलाई प्रधानमन्त्री को ब्रिफिङ : जे पनि हुन सक्छ तयार रहनु

प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई भोलिका दिनमा जस्तोसुकै परिस्थिती आउन सक्ने चेतावनी दिएका छन् ।

आज साँझ सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई वालुवाटार बोलाएर ओलीले पार्टीभित्रको विवाद तत्काल समाधान हुने संकेत नदेखिएको भन्दै खतराको घण्टी बजेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई बालुवाटारबाट निराश बनाएर फर्काएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका प्रधानमन्त्रीले लगत्तै मन्त्रीहरूसँग राजनीतिक छलफल गरेका थिए ।

छलफलमा सहभागी एकमन्त्रीका अनुसार प्रधानमन्त्रीले बैठकमा पार्टी एकतालाई झन् सङ्कटतिर डोर्‍याउने कुरा गरेका थिए ।

मन्त्रीहरुसँग ओलीले नेकपा पार्टी अहिलेकै अवस्थामा नरहन सक्ने भन्दै विभाजनको संकेतसमेत दिएका छन् । पार्टी विभाजन भएमा कुन पक्षतिर लाग्ने भन्नेमा सुझबुझपूर्ण निर्णय गर्न पनि ओलीले सुझाब दिएको एक मन्त्रीले जानकारी दिए । “तपाईंहरू मन्त्रिपरिषद् सदस्य मात्रै होइन । पार्टी कमिटी सदस्य पनि हो । कता लाग्ने प्रष्ट हुनुहोला ।” प्रमको भनाई राख्दै ती मन्त्रीले बताए ।

शनिबार साँझ बालुवाटारमा पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न बोलाएको बैठकमा सत्तारुढ दल नेकपाभित्र भइरहेका गतिविधिबारे मन्त्रीहरूलाई आफ्ना धारणा सुनाएका थिए । साथै आफूले कुनै पनि पदबाट अहिले राजीनामा नदिने मन्त्रीहरुसमक्ष ओलीले स्पष्ट पारेका छन् ।

उनले पार्टी एकताका लागी आफुले पहल भने जारी राख्ने समेत बताए । प्रधानमन्त्री ओलीले अर्को वैठकमा आउंदा आफुतिर लाग्ने वा अर्कोतिर लाग्ने स्पष्ट हुन् समेत आग्रह गरेका छन् । ‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ । अहिले नै गर्नु पर्दैन् अर्को वैठकसम्म स्पष्ट भएर आउनुहोला । ’प्रधानमन्त्रीको भनाई उदृत गर्दै एकमन्त्रीले भने ।

‘प्रधानमन्त्रीले पार्टी एकता गम्भीर मोडमा पुगेको पनि बताएका थिए ।

“पार्टी एकता चरम सङ्कटमा छ । स्थायी कमिटीमा हुल्लडबाजहरूले अनर्गल प्रचार गरिरहेका छन् । मलाई तल्लो स्तरमा झरेर गालीगलौज गर्ने, अत्यन्तै अपमानित गर्ने काम भइरहेको छ । तपाईंहरू पार्टीको सदस्य पनि हो,” प्रधानमन्त्रीले मन्त्रीसँग भनेको कुरा एक सदस्यले उद्धृत गरे, “त्यो हुल्लडबाजहरूको समूहले गरेको कुनै पनि निर्णय म मान्दिनँ । मान्नुपर्ने बाध्यता पनि छैन ।”

पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाहा पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको प्रधानमन्त्रीको भनाई थियो । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नुहुन्छ, यो कस्तो संगठन हो ?कस्तो विधी हो, कसरी संगठन चल्दैछ यसवाट पनि प्रस्ट बुझ्न सकिन्छ,’ उनले वैठकमा भनेका थिए ।

प्रतिक्रिया दिनुहोस