उपत्यकाको ढलमा देखिएको कोरोना भाइरसले कस्तो असर पर्ला?

 

एक निजी प्रयोगशालाले गरेको अध्ययनले उपत्यकाको दुई ठाउँको ढलमा कोरोना भाइरस फेला परेको देखाएको छ।

सेन्ट्रल फर मलिकुलर डायनामिक नेपाल नामक प्रगोगशालाले उपत्यकाको चार ठाउँको ढलको परीक्षण गरेकोमा दुई ठाउँमा कोभिड-१९ भाइरस देखिएको हो।

सो अध्ययनलाई नेतृत्व गरेका डा. दिवेश कर्मचार्य भन्छन्, ‘हामीले उपत्यकाका चार ठाउँको ढलबाट नमूना लिएर परीक्षण गर्दा दुई ठाउँमा भाइरस देखियोएको हो।’

उनले कुन-कुन ठाउँको ढलमा भाइरस देखिएकोबारे खुलाएनन्। यद्यपी मुख्य बस्तीकै ढलबाट नमूना संकलन गरिएको कर्मचार्यले जनाए। यसरी ढलहरूमा भाइरस देखा परेसँगै यसले कुन-कुन ठाउँमा संक्रमण फैलिएको छ भनेर स्क्रिनिङ गर्न सघाउ पुर्याउने उनको विश्वास छ।

‘अहिले कोरोना कुन-कुन ठाउँमा छ भन्ने थाहा छैन। त्यसैले यसरी ढलहरूमा कोरोना फेला परे सो टोलहरूमा स्क्रिनिङ गर्न मिल्छ,’ उनले भने।

यसरी ढलहरूमा कोरोना भाइरस देखा परेपछि मानिसहरूमा संक्रमण थप बढ्न सक्ने डर छ। तर ढलमा भेटिएको भनिएको सो भाइरसमा संक्रमण सार्न सक्ने क्षमता कति छ भन्ने एकीन छैन।

यसबारे थप अध्ययन् भइरहेको कर्मचार्यले जनाए। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि ढलमा भेटिएको भाइरसको संक्रमण सार्न सक्ने क्षमता कति छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए।

पहिलो कुरा त कोरोना भाइरस पानीमा बाँच्न सक्न कि सक्दैन भन्ने कुरा नै एकीन छैन। डा. पुन पनि अहिलेसम्म कोरोना भाइरस पानीमा रहन्छ भन्ने अध्ययनले नदेखाएको बताउँछन्।

इटालीमा भने यो भाइरस फोहोर पानीमा भेटिएको थियो। साथै चीनमा विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानले यो भाइरस मानिसको दिसामा भेटिएको तथ्य फेला पारेको पुनले जनाए।

उनले नेपालमा पनि ढलमा मानिसहरूको दिसा बग्ने भएकाले त्यहाँ भाइरस फेला परेको हुनसक्ने बताए। तर दिसामा भेटिएको कोरोना भाइरस संक्रमण सार्न सक्रिय नहुने चीनकै अनुसन्धानले देखाएको पुन बताउँछन्।

उनले ढलमा भेटिएको भनिएको भाइरस विदेशबाट आएका व्यक्तिको दिसाबाट आएको हो कि कतै नगएका व्यक्तिको दिसाबाट आएको हो भन्ने महत्वपूर्ण रहेको बताए। यसरी छुट्टिन सक्यो भने संक्रमण बाहिरबाट आएको हो कि समुदायमा फैलिएको भन्ने पत्ता लगाउन सहज हुने उनको विश्वास छ।

निजी प्रयोगशालाले गरेको अध्ययन् भएकाले सरकारले यसलाई कसरी लिएको छ भन्ने हेर्न बाँकी छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. सुशिल ज्ञावलीले निजी प्रयोगशालाले गरेको सो अधययनमा सहकार्य गरेर अघि बढ्न सकिने जनाए।

उनले यसमा थप अनुसन्धान गर्न भने परिषद्को स्वीकृति लिनुपर्ने बताए। ‘उहाँहरूले अहिलेलाई अध्ययन् नै हो भनिरहनुभएको छ। यसमा थप अनुसन्धान गर्ने हो भने स्वीकृति लिनुपर्छ,’ उनले भने।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले पनि निजी यो कुरा धेरै थाहा नपाएको जनाए। ‘मैले पनि सुनेको हो। हामीले उहाँहरूलाई कसरी परीक्षण गर्नुभएको हो भनेर सोध्न बोलाउँछौं। त्यसपछि कसरी अघि बढ्ने भन्ने थाहा हुन्छ,’ उनले भने।

सेन्टर फर मलिकुलर डायनामिक नेपालले १० दिन अघि यो अध्ययन् सुरु गरेको थियो। डा. कर्मचार्यले १० दिन अघि चार वटा ठाउँको ढलको नमूना संकलन गरी परीक्षण गरिएको जनाए।

प्रत्येक ढलबाट ५० एमएल नमूना संकलन गरिएको थियो। त्यसपछि नमूनालाई सुरुमा आरएनए छुट्याइएको र पछि ‘पिसिआर कम्पोनेन्ट’ र ‘डिएनए सिक्वेन्सिङ’ गरेर परीक्षण गरिएको डा. कर्मचार्यले बताए।

उनले दुई वर्षदेखि नै काठमाडौंको ढलमा टाइफायडको अनुसन्धान गरिहेकाले अहिले पनि भाइरस हुनसक्ने भन्दै ढलबाट नमूना लिएको जनाए। यसको लागि अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयसँग सहकार्य गरेर काम गरेको जनाए।

‘अमेरिकाकै बस्टनमा एक ट्रिटमेन्ट प्लान्टबाट नमूना लिएर परीक्षण गर्दा भाइरस देखिएको थियो। त्यसैले नेपालमा पनि हामीले ढलको नमूनामा परीक्षण गर्यौं,’ उनले भने। यो अध्ययनको लागि जम्मा ३० जना प्राविधिक खटिएको कर्मचार्यले जानकारी दिए।

अहिले ललितपुर महानगरपालिकाले पनि आफ्नो क्षेत्रको ढलहरूमा परीक्षण गर्नलाई आग्रह गरेको उनले बताए।

‘हामीले लतिपुर महानगरपालिकाले पनि ढलहरूको नमूना लिएर परीक्षण गर्न आग्रह गर्नुभएको छ। त्यो काम पनि हामी छिट्टै सुरु गर्छौ,’ डा. कर्मचार्यले भने।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस