यसकारण दक्षिण एसियामा एक्लदै छ भारत ,

जुन १५ मा भारत र चीनका सिमानामा तैनाथ दुई देशका सैनिकबीच गलवान घाँटीमा भएको हिंसात्मक भिडन्तले दुई देशबीच तनाव मात्र बढाएको छैन, क्षेत्रीय स्थिरतालाई चुनौती दिनका साथै विश्व भूराजनीतिमा नयाँ तरंग पैदा गरेको छ। विश्वको झन्डै ३७ प्रतिशत जनसंख्याको हिस्सा ओगट्ने आणविक शक्तिसम्पन्न दुई राष्ट्रबीचको तनावलाई बाँकी विश्वले सामान्य रूपमा लिएको छैन। सन् १९६२ को युद्धपछि पाँच दशकयताको सबैभन्दा घातक भनिएको भिडन्तमा २० जना भारतीय जवान मारिएका, ७६ जना घाइते भएका र १० जना चिनियाँ सेनाको कज्जामा परी रिहा भएको विवरण भारतीय पक्षले दिएको छ। चीनले आफ्नोतर्फ केही जवान हताहत भएको जनाए पनि केकति हताहत भए भन्ने विवरण दिएको छैन।

चार हजार ५६ किमि लामो सिमाना जोडिएका भारत र चीनबीच अधिकांश क्षेत्रमा निर्धारित स्थायी सिमाना छैन र प्रायजसो ठाउँमा लाइन अफ कन्ट्रोल (एलएसी) अर्थात् वास्तविक नियन्त्रण रेखालाई नै सीमा रेखा मानिएको छ। त्यसैले सीमा सुरक्षामा खटिएका सैनिकबीच बेलाबेलामा झडप हुने गर्छ। तर यसपटकको भिडन्त अन्य समयको भन्दा फरक मानिएको छ। फरक हुनुका कारण पहिलो त भिडन्तमा २० जना भारतीय सैनिकको ज्यान गएको छ। दोस्रो कोभिड– १९ ले विश्व अलगथलग परेको समयमा परेको छ र तेस्रो यो घटना अमेरिका र चीन दोस्रो शीतयुद्धको निकट पुगेको भनेर भनिँदै गरिएको अवस्थामा भएको छ।

विवादका तत्कालीन र रणनीतिक कारण:मे महिनाको पहिलो हप्तादेखि नै सिक्किमको सिमानामा रहेको मुगुथाङ भ्याली, लद्दाखको पेङगङ सो ताल, गलवान भ्याली र गोग्रा क्षेत्रको हटस्प्रिङमा भएका निरन्तरको झडपले दुई देशबीचको सीमा क्षेत्रमा तनावपूर्ण बन्दै गएको थियो। दुई पक्षका लेफ्टिनेन्ट जनरलस्तरका सैन्य अधिकारीबीच जुन ६ मा वार्ता भई स्थिति मत्थर पार्ने सहमति पनि भएको थियो। भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ ईका बीचमा पनि टेलिफोन वार्ता पनि भएको थियो। तर परिस्थिति सामान्य हुन सकेको थिएन।

जुन १५ को घटना स्योक र गलवान नदीको संगमस्थलनजिकै पर्ने गलवान घाँटीमा भएको थियो। घटनाको तत्कालीन कारण दुवै देशका सेनाहरूले नियमित गस्ती गरिरहने स्थान पेट्रोल पोइन्ट १४ मा चिनियाँ पक्षले बनाएको अस्थायी टहरा र निगरानी गर्ने अब्जरभेसन टावरका सम्बन्धमा भारतीइ पक्षले विमति जनाउँदा दुवै पक्षबीच भनाभन हुँदा घटनाले हिंसात्मक रूप लिएको सञ्चारमाध्यममा आएका छन्। यद्यपि चिनियाँ पक्षले भारतीय सेनाले नियन्त्रण रेखा पार गरी चिनियाँ जनमुक्ति सेनालाई उत्तेजित पार्ने काम गरेकाले त्यो घटना भएको दाबी गरेको छ। उक्त घटना हुनुमा भारत पूर्णरूपमा जिम्मेवार भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले बताएका थिए। भारतीय विदेशमन्त्री एस जयशंकरले उक्त घटना चीनको जानीबुझी गरिएको योजनाबद्ध कदम भएको प्रतिक्रिया दिएका थिए। भारतीय प्रधानमन्त्री मोदीले भारत शान्तिका पक्षमा रहेको तर कसैले भड्काउन खोजे त्यसको उचित जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिएका थिए।

चीन र भारतबीचको हालको विवाद सीमाकेन्द्रितभन्दा पनि सामरिक रणनीतिको संघर्ष हो। यसमा भारतको राष्ट्रवादी रङ र चिनियाँ शक्ति आर्जनको परीक्षण मिसिएको छ। दुवै राष्ट्रले सीमा क्षेत्रमा रोड र अन्य भौतिक संरचना निर्माणमा तीव्रता दिएका छन्। गत वर्ष भारतले कश्मीरको विशेषाधिकार खोसेर लदाखलाई केन्द्रशासित क्षेत्र घोषणा गर्नु र भारतले दाबी गरेको तर चीनको कब्जामा रहेको अक्साई चीनलाई गाभेर नक्सा सार्वजनिक गर्नु र रणनीतिक महत्वको लद्दाखको दरबुकदेखि काराकोरम पाससम्म पुग्ने दरबुक स्योक दौलत वेग ओल्डी (डिएसडिवियो) सडक निर्माणले पनि चीन झस्किएको विश्लेषण गरिएको छ। बाह्रै महिना सवारी साधन चल्न सक्ने १४ हजार फिटको उचाइ भएर जाने दुई दशक लगाएर बनाएको यो रोडलाई भारतले रणनीतिक उपलब्धि मानेको छ। चीनसँगको वास्तविक नियन्त्रण रेखासँग समानान्तर भएर जाने यो रोडले भारतीय वायु सेनाको एयरबेस दौलत वेग ओल्डीमा सहजरूपमा सामान ढुवानी गर्न सक्नेछ। यो रोड चीन–पाकिस्तान इकोनमिक कोरिडोर र अल्पसंख्यक मुस्लिम समुदाय उइघुरको बसोवास रहेको संवेदनशील झिजियाङ प्रान्तको नजिकै पुग्छ र गलवान भ्यालीतर्फको शाखाले अक्साई चीन नजिक पुर्‍याउँछ।

भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ सेना आफ्नो भूभागमा प्रवेश नगरेको बताए पनि हालैको घटनामा पेङगोङ सो क्षेत्रमा चीनले आफ्नो यथास्थितिको पोजिसन बदलेर अघि आएको र भारतले यथास्थितिमा फर्कन दबाब दिएको भन्ने समाचार आएका छन्। स्थिति सामान्य गर्न सैनिक र कूटनीतिक च्यानलबाट वार्ता भइरहेका छन्। अमेरिकी स्पेस स्याटलाइट कम्पनी म्यास्कसरले जारी गरेको स्याटलाइट तस्बिरमा सीमा क्षेत्रमा गलवान भ्याली क्षेत्रमा दुवै देशले द्रूतगतिमा भौतिक संरचना बनाउनुका साथै थप सैनिक परिचालन गरेर आआफ्नो सैन्य मोर्चा मजबुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस